६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, १२ : १९
६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया लामालाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । लामालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले पुष्टि गरेको छ ।

कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । उनलाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो । पूर्वन्याायधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । जसक्रममा लामाको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो ।

६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनबहादुर गुरुङ समेत संलग्न देखिएको भन्दै सीआईबीले अनुसन्धान अघि बढाएको थियो । २१ मंसिरमा फ्लाई दुबईको विमानमार्फत ल्याइएको १४ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा गुरुङ पक्राउ परेका थिए । गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका अध्यक्ष समेत रहेका गुरुङलाई ५ चैतमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका थिए । त्यसपछि ६० किलोभन्दा बढी सुन तस्करीमा संलग्न देखिएपछि सीआईबीले अनुसन्धान अघि बढाउँदा उनी फरार भइसकेका थिए ।