जापानका अनुसन्धानकर्ताले बनाए विश्वकै पहिलो काठको उपग्रह

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १५ : ०७
जापानका अनुसन्धानकर्ताले बनाए विश्वकै पहिलो काठको उपग्रह

काठमाडौं। टोकियो–जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ ।

विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको लिग्नोस्याट नामक उपग्रह अर्को हप्ता अन्तरिक्ष एजेन्सी जाक्सालाई हस्तान्तरण गर्ने योजना बनाएका छन् । यसलाई सेप्टेम्बरमा केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स रकेटद्वारा अन्तरिक्षमा पठाइनेछ । त्यहाँबाट उपग्रहलाई यसको शक्ति र स्थायित्व परीक्षण गर्न जापानी आईएसएस प्रयोग मोड्युलबाट प्रक्षेपण गरिनेछ ।

‘उपग्रहले अनुसन्धानकर्तालाई तथ्याङ्क पठाउनेछ जसले दबाबका सङ्केत र उपग्रहले कतिसम्मको तापक्रम थेग्न सक्छ भनेर जाँच गर्न सक्छन्, सुमितोमो वन विज्ञान विभागका प्रवक्ताले बुधबार बताए ।

‘धातुबाट नबनेका उपग्रहहरू मुख्यधारमा रहनुपर्छ,’ अन्तरिक्ष यात्री र क्योटो विश्वविद्यालयका विशेष प्राध्यापक ताकाओ डोईले पत्रकार सम्मेलनमा भने ।

सिर्जनाकर्ताहरूले उपकरण वायुमण्डलमा पुनःप्रवेश गर्दा काठको सामग्री पूर्ण रूपमा जलेको हुने र यसका कारण उपग्रह पृथ्वीमा फर्कँदा हानिकारक धातुका कणहरू उत्पादन नहुने बताएका छन् । यी धातुका कणले वातावरण र दूरसञ्चारमा नकारात्मक प्रभाव पार्न सक्छ,’ विकासकर्ताहरूले मङ्गलबार काठको उपग्रहको निर्माण पूरा भएको घोषणा गर्ने क्रममा बताए । 

प्रतिक्रिया दिनुहोस