सोलुखुम्बु । सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो ।
असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् ।
काठमाडाँैदेखि सल्लेरी सीधा सडक यातायात सञ्चालन भएसँगै हवाई यात्रुको सङ्ख्यामा कमी आएको बताइन्छ । विगत ५ महिनादेखि उडान नगरेको समिट एयरलाइन्सले काठमाडौँबाट आउने यात्रु नभएकाले नै उडान तालिका नराखेको जानकारी दिएको छ ।
फाप्लुबाट यात्रु पाए पनि काठमाडौँबाट सोलुखुम्बु आउने यात्रु नहँुदा उडान हुन नसकेको समिट एयरलाइन्स फाप्लुका इन्चार्ज मिङमार शेर्पाले जानकारी दिनुभयो । काठमाडौँबाट यात्रु पाएको खण्डमा नियमित उडान तालिका राख्ने उहाँको भनाइ छ ।
मौसम प्रतिकूलताका कारण हवाई उडान प्रभावित हुने भएपछि काठमाडाँैबाट सोलखुुम्बु आउने यात्रुको सङ्ख्यामा कमी आएको विमान कम्पनीका कर्मचारीको भनाइ छ । यता तारा एयरलाइन्सले भने मौसम प्रतिकूलता भएको समय बाहेक अरु समयमा नियमित उडान गरिरहेको दाबी गरेको छ । तारा एयरलाइन्सले हप्तामा दुई दिन नियमित उडान गरिरहेको तारा एयरलाइन्स फाप्लुका इन्चार्ज शैलेश श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि सदरमुकाम नजिकै रहेको उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, समिट एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए । उक्त समयमा समेत टिकट पाउन मुश्किल हुने गरेको यात्रुको भनाइ छ ।
बर्खा लागेसँगै निजी कम्पनीको समिट एयरलाइन्सले नियमित उडान रद्ध गरेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका एयर ट्राफिक कन्ट्रोलर एवं निमित्त इन्चार्ज विकास झाले जानकारी दिनुभयो । करीब पाँच महिनादेखि समिट एयरले उडान गरेको छैन, झाले भन्नुभयो, “कहिलेकाँही कार्गो गर्छ, किन हो नियमित उडान गरेको छैन ।” तारा एयरलाइन्सले भने नियमित उडान गरिरहेको जनाएको छ ।
आन्तरिक विमानको क्षमता १३ देखि १४ सम्म यात्रु बोक्ने भएकाले टिकट पाउन मुश्किल परेपछि यहाँका स्थानीयको रोजाइ सडक यातायात बनेको पेमदोर्जी शेर्पाको भनाइ छ ।
यता तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समेत मौसम प्रतिकूलतको कारण नियमित उडान हुनसकेको छैन । पर्यटकीय सिजन शुरु भए पनि मौसममा सुधार नआउँदा उडान प्रभावित बनेको गाउँपालिका अध्यक्ष ङिमजोर्दी शेर्पाले जानकारी दिनुभयो ।
दैनिक ९० सम्म उडान हुने उक्त विमानस्थलमा अहिले २५ देखि ३० सम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । उडान सेवा प्रभावित भएपछि यहाँको पर्यटनमा प्रत्यक्ष असर परेको गाउँपालिका अध्यक्षको भनाइ छ । (रासस)
प्रतिक्रिया दिनुहोस