गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने काँग्रेसको निर्णय

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १३ : ०३
गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि बोलाइएको छ । काँग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा ३० सांसदको समर्थन पाउँदैमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकि ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

काँग्रेसले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै १४ जेठमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुद्धाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनैपनि कार्यमा नेपाली काँग्रेसको सहभागिता नरहने काँग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेले बताए ।

Tags :   

प्रतिक्रिया दिनुहोस