गण्डकीमा एमालेबाट नियुक्त ४ जना मन्त्रीले लिए शपथ

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १४ : २८
गण्डकीमा एमालेबाट नियुक्त ४ जना मन्त्रीले लिए शपथ

काठमाडौँ । गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रूपमा शपथ लिएका छन् ।

गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । ४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

नेपाल समाजवादी पार्टीका फणीन्द्रको मन्त्रालय यथावत राखिएको छ भने काँग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै आर्थिक मामिलामा डा। टकराज गुरुङ र समाजिक विकासमा विन्दुकुमार थापा छन् । केन्द्रमा काँग्रेस-एमाले समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

प्रतिक्रिया दिनुहोस