सम्पत्ति विवरण बुझाउँदा २ लाख हुनुपर्नेमा २० लाख भएछ : मन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १४ : १८
सम्पत्ति विवरण बुझाउँदा २ लाख हुनुपर्नेमा २० लाख भएछ : मन्त्री शर्मा

काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले सहकारीको खातामा आफ्नो दुई लाख रुपैयाँ मात्रै बचत रहेको बताएकी छन्। सम्पत्ति विवरण बुझाउँदा भुलवश सहकारीमा २० लाख रुपैयाँ बचत रहेको उल्लेख भएको भन्दै उनले उक्त प्रष्टीकरण दिएकी हुन्।

सरकारले मंगलबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। मन्त्री शर्माको सम्पत्ति विवरणमा क्यारिना ऋण तथा बचत सहकारी संस्थामा आफूसँग २० लाख रहेको उल्लेख थियो। मन्त्री शर्माले २० लाख नभई २ लाख मात्रै बचत रहेको बताएकी छन्।

विवरण टिप्नेक्रममा एउटा शून्य अङ्क बढी टाइप हुन गएको उनको प्रष्टीकरण छ।‘सो सहकारीमा मेरो एक लाख शेयर रकम र सो बराबर नियमित बचत गरी करिब २ लाख रहेको हुनुपर्नेमा एउटा ० बढी टाइप हुन गई प्राविधिक त्रुटिका कारण २० लाख लेखिन पुगेकाले सो विवरण त्रुटिपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु,’ उनले प्रस्ट्याएकी छन्।

शर्माले सम्पत्ति विवरणमा कृष्णध्वज खड्काको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा ६ आना जग्गा र साढे २ तलाको घरसमेत रहेको उल्लेख गरेकी छन्।प्युठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ।

सुन ६ तोला र २ तोला चाँदी रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उनको भनाइ छ। मन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार र एभरेष्ट बैंकमा २८ हजार रहेको उल्लेख गरेकी छन्।

उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता शेयर रहेको उल्लेख गरेकी छन्। ६५ लाख ऋण लिएको, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस