आज कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिने, अर्थको टुङ्गो अझै लागेन

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, ११ : ३६
आज कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिने, अर्थको टुङ्गो अझै लागेन

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश सरकार विस्तार गर्ने भएका छन् । एमाले र माओवादीबिच मन्त्रालयको भागबण्डा सहमति नजिक पुगेको कारण आजै मन्त्रीमण्डल विस्तार हुने माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए ।

संविधानको धारा १६८ (५) अनुसार गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले एमालेका रामबहादुर मगर र माओवादीका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् । आज एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राई र निरन राई राज्यमन्त्री नियुक्त गर्ने सम्भावना छ ।

यस्तै माओवादीबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जामगर मन्त्री तथा सपना दर्जी र वन्दना झाँगडमध्ये एक जनालाई राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको बुझिएको छ।

यद्यपि आर्थिक मामिला तथा योजना मन्त्रालय कसले लिने भन्ने अझै टुङ्गो लागिसकेको छैन । सो मन्त्रालय माओवादीको भागमा परेमा दुर्गाप्रसाद चापागाईँ मन्त्री हुने सम्भावना रहेको छ । तर, एमालेले सरकारको नेतृत्व गर्नेले नै आर्थिक मामिला मन्त्रालय राख्न उपर्युक्त हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयसहितका तीन मन्त्रालय लिन माओवादीलाई आग्रह गरिरहेको छ ।

माओवादीले अर्थ वा भौतिकमध्ये एक, पर्यटन, वन तथा वातावरण र स्वास्थ्य वा सामाजिकमध्ये एक मन्त्रालय पाउने स्रोतले जनाएको छ ।

आर्थिक मामिला मन्त्रालयमा दोहोरो दाबी परेपछि नेतृत्वसँग सल्लाह गर्न माओवादी कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल काठमाडौँ पुगेका छन् ।  नेतृत्वसँग काठमाडौँमा सल्लाह भएलगत्तै सरकार विस्तार हुने जनाइएको छ । 

यता, सरकार विस्तार र भागबण्डालाई टुङ्गोमा पुर्याउन मुख्यमन्त्री कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच पनि छलफलको तयारी भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस