इजरायलमा मर्मत गरेर काठमाडौं आइपुग्यो वायुसेवा निगमको जहाज

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १५ : ५५
इजरायलमा मर्मत गरेर काठमाडौं आइपुग्यो वायुसेवा निगमको जहाज

काठमाडौं। नेपाल वायुसेवा निगमको कल साइन नाइन एन- एकेएक्स जहाज मर्मतपश्चात काठमाडौं फर्किएको छ ।जहाज मर्मतपछि इजरायलबाट दुबई हुँदै शनिवार साँझ ९:५६ बजे काठमाडौंमा अवतरण भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएपछि मर्मतका लागि इजरायल पठाइएको थियो ।मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच गर्दा अन्य प्राविधिक समस्याहरूको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको थियो ।

 

 

जहाज मर्मतका लागि ​इजरायलस्थित नेपाली राजदूतावासले गरेको सहयोग र समन्वयका लागि निगमले आभार प्रकट गरेको छ ।जहाजको इन्जिन मर्मतमा ढिलाई हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ ।​​

उक्त जहाज नियमित उडानमा आएपछि यात्रुहरूको माग र बजार चापलाई अझ सशक्त ढंगले सम्बोधन हुने निगमको विश्वास छ ।