काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कुल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ ।चालू आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कुल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् रु १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो ।
सो अवधिमा प्रदेश सरकारले चालूतर्फ रु पाँच अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ रु पाँच अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रु चार अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले रु दुई अर्ब ४७ करोड नौ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ७१ करोड १८ लाख खर्च गरेको उनले जानकारी दिए ।
सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १४ करोड नौ लाख र आर्थिक मामिला मन्त्रालयले रु छ करोड ६६ लाख खर्च गरेको छ ।
त्यस्तै, प्रदेश व्यवस्थापिकाले रु १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले रु चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले रु एक करोड ७३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालू आवका लागि कुल रु २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो ।त्यसमध्ये चालूतर्फ रु ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ रु १७ अर्ब दुई करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ रु ३० करोड बजेट विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२१ गतेभित्र बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी
एमालेले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिम सरकारलाई समर्थन दिने नाउपाको निर्णय
सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई कारबाही गर्ने रञ्जिताको चेतावनी