२१ गतेभित्र बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, १३ : ००
२१ गतेभित्र बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी

काठमाडौँ । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षको बजेट २१ भदौभित्र ल्याउने तयारी गरेको छ । काँग्रेसको नेतृत्वमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको साढे ३१ अर्ब बराबरको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन ।

२० साउनमा काँग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कमलबहादुर शाहले २१ साउनमा पदभार ग्रहण गर्दै चाडै बजेट ल्याउने बताएका थिए । सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका शाहले भदौ पहिलो साताभित्र बजेट ल्याएर रोकिएका कामलाई गति दिने दाबी गरे पनि सरकारले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।

सरकारले २४ साउनमा सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ ल्याएर रोकिएको कर संकलनको बाटो खोलेको थियो तर बजेट कहिले ल्याउँछ भन्ने कुरा प्रष्ट छैन ।यद्यपि मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले २१ भदौभित्र बजेट ल्याउने गृहकार्य गरिरहेको बताएका छन् । शाहले प्रदेश सभामा पेश भइसकेको बजेट पुनर्लेखन र परिमार्जनसहित ल्याउने तयारी रहेको समेत बताए ।

‘सरकारले अगामी २०-२१ गतेसम्म प्रदेश सभामा पेश गर्ने गरी बजेट तयारी गरिरहेको छ’, शाहले भने, ‘पहिले नै सभामा पेश भइसकेको बजेट पुनर्लेखन र परिमार्जनसहित नयाँ आउँछ होला ।’

उनले आवश्यक योजना तथा कार्यक्रम नयाँ बजेटमा समावेश गर्ने र आवश्यक नभएकालाई हटाउने बताए ।आर्थिक मामिला मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको ६ अर्ब १५ करोड रुपैयाँ बचत हुने अनुमान थियो । तर ४ अर्ब ८४ करोड मात्रै बचत भएकाले बजेटको आकार घट्ने देखिएको छ ।

प्रदेश सभामा यसअघि बजेट पेश भइसकेको तर पारित हुन नसकेको कारणले गर्दा अध्यादेशमार्फत नयाँ बजेट ल्याउने वा प्रतिस्थापन विधेयक ल्याउने विकल्प सरकारसँग छ ।

‘औपचारिक रूपमा बजेट प्रदेश सभामा यसअघि नै पेश भइसकेको छ । यस्तो अवस्थामा फेरि अर्को बजेट पेश गर्न सकिँदैन’, अधिकारीले भने, ‘पहिलेको विधेयकलाई फिर्ता गरेर सरकारले मन्त्रिपरिषद्‍बाट निर्णय गरी नयाँ पेश गर्न सक्छ ।’