सहकारीको रकम हिनामिनामा रवि संलग्न छन्, छानबिन समिति गठन गर्नैपर्छ: कांग्रेस

संसदीय दलको बैठक

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, १२ : ५२
सहकारीको रकम हिनामिनामा रवि संलग्न छन्, छानबिन समिति गठन गर्नैपर्छ: कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कारबाही गर्न माग गरेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको अर्बौं रुपैयाँ अपचलन भएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।

 

कांग्रेसले तत्काल संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गरेको छ । ‘सहकारीमा बचत गरेको रकम हिनामिना, दुरुपयोग र अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री माननीय रवि लामिछानेसमेत संलग्न रहेका छन्,’ दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

, ‘यसबारे संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसलगायत अन्य विपक्षी दलले निरन्तर माग गरिरहेको सर्वविदितै छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक तत्काल संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’

सहकारीमा रकम जम्मा गरेका व्यक्तिको वचतको सुरक्षाको ग्यारेन्टी गर्न, पीडितको रकम फिर्ता गर्न र दुरुपयोग, अपचलन र ठगी गर्नेहरूमाथि कारवाही गर्न कांग्रेसले माग गरेको छ । ‘लाखौं नेपाली नागरिकले सहकारीमा जम्मा गरेको अर्बौैं वचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको छ।

,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरूको वचतको सुरक्षाको ग्यारेन्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पीडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरूमाथि कारवाही गर्न अनिवार्य भएको ठहर गर्दछ ।’

सरकारले सहकारी समस्या समाधान नगरेमा संसद् बैठक प्रभावित भएको दोष सरकारले लिनुपर्ने कांग्रेसको भनाइ छ । ‘नेपाली कांग्रेसले र अन्य विपक्षी दलहरूले निरन्तर उठाउँदै आएको विषयमा सरकार गैरजिम्मेवार भई समस्याको समाधान नगरेमा यसबाट संघीय संसद्का बैठक प्रभावित हुनेलगायत उत्पन्न हुने सबै परिणामका लागि सरकार नै जिम्मेवार हुने यो बैठक ठहर गर्दछ’ कांग्रेसले भनेको छ । बैठकले गिरी बन्धु टीस्टेटबारे भए गरेका काम कारवाहीका सम्बन्धमा बैठकमा छलफल गरेको र अब संसद्मा उठाउने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस