मुखमात्रै बजारेर समस्या समाधान हुँदैन, समष्टिगत ढंगले गर्नुपर्छ : बाबुराम भट्टराई

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १० : ३१
मुखमात्रै बजारेर समस्या समाधान हुँदैन, समष्टिगत ढंगले गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । सरकारले १०० रुपैयाँको नोटमा नयाँ नक्सा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले एकपक्षीय निर्णय गरेको भन्दै त्यसको तुक नरहेको टिप्पणी समेत गरेको छ । 

यस बारेमा विज्ञहरूले पनि आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्न लागिएका १०० रुपैयाँका नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो ।  

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रूपमा गर्न आवश्यक रहेको बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले नयाँ नक्सा नेपाली नोटमा राख्नेबारेमा सरकारले लिएको निर्णयलाई अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा भएको जिकिर गरे । 

"नेपालको सीमा विवाद जुन छ, यसको हल हुनुपर्छ । समष्टिगत ढंगले गर्नुपर्छ । अंशअंश गरेर यो हल हुँदैन । अलि अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा मात्रै हुन्छ," उनले भने, "यसको हल भनेको इपीजी वा नयाँ किसिमको इपिजी वा त्यस्तै अर्को मेकानिजममार्फत सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढंगले नै हल गर्नुपर्छ । अंशअंश मात्रै हल गरेर हुँदैन ।

उनले यस्ता समस्या तितो मात्रै पोखेर र मुखमात्रै बजारेर हल नहुने बताए । "कालापानी, लिपुलेक, लिम्पियाधुराको ठाउँ, नवलपरासीको सुस्ता लगायतका ठाउँमा समस्या हल गर्न बाँकी छ । इपीजी भनेर अघि सार्नुको कारण ती सीमा समस्या पनि ध्यान दिने हो । जुन भारतसँगको खुला सीमाना छ हाम्रो त्यसले गर्दा हाम्रो अर्थतन्त्रको आधा हिस्सा चुहिएर जाने र त्यसले उद्योग धन्दाहरुको विकासमा असर परेको छ । आगामी दिनमा यो क्षेत्रमा जुन सामरिक स्वार्थ टकराउँछ । भारत—चीन र अमेरिकाको टकराब त देखि नै हालियो । सीमा समस्या की त युद्ध लडेर हुन्छ, की त कूटनीतिक तरिकाबाट हल हुन्छ । खाली तितो मात्रै पोखेर र मुखमात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन्," उनले भने । 

प्रतिक्रिया दिनुहोस