रामेछाप । दुनाटपरी बनाउन रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको घरेलु उद्योग डढेलोका कारण संकटमा परेको छ । आगलागीले गर्दा सालघारी सखाप भएपछि दुनाटपरी बनाउने ज्ञानुकाको सानो उद्योग ठप्प भएको हो । यसै पनि फागुनदेखि जेठसम्म टपरी बनाउन मिल्ने पात पाउन मुस्किल हुन्छ ।
पुरानो पात झर्ने र नयाँ पलाउने यो मौसममा टपरी बनाउने खालका पात मुस्किलले पाइन्थ्यो । यहीबेला वनमा लागेको डढेलोले सालघारी नै उदाङ्गो बनाइदिएको छ ।रामेछाप नगरपालिकाले सालको पातको टपरी बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचका साथ ज्ञानुकाले काम सुरु गरेकी थिइन् ।
व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेर २० जनाको समूहसमेत बनाएकी छन् । खेर गइरहेको सालको पातबाट दुनाटपरी बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिकासँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागि दुई लाख रुपैयाँ दिएको थियो ।
वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की व्यवसायी सिर्जना कार्की बताउँछिन् । उनी भन्छिन्, ‘डढेलोले सबै पात सखाप भयो, अब नयाँ पलाएर टपरी गाँस्न तयार हुन धेरै समय लाग्छ होला ।’
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले वनमा आगो लगाउनेलाई कडा कारबाही गरिने बताएकी छन् । उनले वनमा आगो लगाउनेको पहिचान गर्न डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई निर्देशन दिएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ बैशाख २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु
ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर
वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी
डढेलोले खोटाङमा तेह्र घर खरानी