बागमती प्रदेशको बिदाको निर्णय अपरिपक्व, ​सेवाग्राही अलमलमा

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, १२ : ३८
बागमती प्रदेशको बिदाको निर्णय अपरिपक्व, ​सेवाग्राही अलमलमा

काठमाडौं। बागमती प्रदेश सरकारले सोमवार (भोलि) बिदा दिने निर्णय गरेको छ ।प्रदेश सरकार मन्त्रीपरिषद्ले यही वैशाख १२ गते गरेको निर्णयअनुसार बिदा दिन लागिएको हो ।नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको थियो ।

 

तर यो बिदाको निर्णय अपरिपक्व हुँदा सेवाग्राही अलमलमा पर्ने देखिएको छ । प्रदेशका दुई कार्यालयका प्रवक्ताहरू नै कुन–कुन सरकारी कार्यालय बिदामा हुन्छन् भन्नेतर्फ प्रष्ट छैनन्।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रबहादुर अर्यालले प्रदेश अन्तर्गत नलेखेकाले प्रदेशका मन्त्रालय र ती मातहतका कार्यालय मात्रै बिदा हुने बताए ।उनले भने, ‘प्रदेश अन्तर्गतका नलेखेकाले सूचना अलि स्पष्ट भएन । बरु आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको निर्णय हुँदा उतै बुझ्नुहोला ।’

उक्त मन्त्रालयकी प्रवक्ता एवं उपसचिव मनुका घिमिरेले प्रदेश अन्तर्गतका सरकारी कार्यालय बिदा हुने बताइन् । ‘संघ अन्तर्गतका कार्यालयहरू सीडीओ कार्यालय, कारागार, अदालतजस्ता अड्डाहरू बिदा हुँदैनन् । तर, उनीहरूले बिदा बस्न खोजे मिल्छ’, उनले भनिन् ।

तर घिमिरेको जवाफले सेवाग्राही झन् अलमलमा पर्ने देखिएको छ ।संघमा रहेको गृह मन्त्रालयले भने उपत्यका बाहिरको हकमा मात्रै प्रदेशले बिदा गरेमा बिदा हुने जनाएको छ ।मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रदेशले गर्ने ६ वटा बिदाहरूमा उपत्यकामा रहेका प्रदेश मातहतका कार्यालयबाहेक बाहिरका बिदा हुने बताए ।

उनले भने, ‘कतिपय प्रदेश मातहतका कार्यालयहरू संघ वा उपत्यकामा पनि छन्, तर यि कार्यालयहरू बिदा हुँदैनन् । उपत्यका बाहिरका कार्यालयहरू भने बिदा हुन्छ।’उनले उपत्यका बाहिरको हकमा प्रदेशले बिदा निर्णय गरेका संघका सबै कार्यालयहरू पनि बिदा हुन्छन् ।