जलजला गाउँपालिकाका २५ सामुदायिक विद्यालय समायोजन

रासस

सोमबार, १७ बैशाख २०८१, १६ : ४५
जलजला गाउँपालिकाका २५ सामुदायिक विद्यालय समायोजन

पर्वत । विद्यार्थी सङ्ख्या घट्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो ।

गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । त्यसमध्ये तीन विद्यालयका पूरै कक्षा नै समायोजन गरिएको उनले बताए ।

वैशाख १२ गते गाउँ शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकको संयुक्त बैठकले विद्यार्थी सङ्ख्या कम भएका आधारभूत तथा मावी विद्यालयको कक्षा समायोजन गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

अध्यक्ष आचार्यका अनुसार जलजला–२ मा रहेको सिद्धबाबा विद्यालयको ५ भन्दा माथिका कक्षा, वडा नं ३ को बेनीबजार प्राविको कक्षा ३ भन्दा माथिका कक्षा, वडा नं ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नं ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षा शिव माविमा समायोजन गरिएको छ ।

यस्तै वडा नं १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योतिमण्डल माविमा, वडा नं २ को दिनकल्याण प्राविको १ भन्दा माथिका कक्षालाई समाजकल्याण प्राविमा, विध्यावासिनी प्राविको तीनभन्दा माथिको कक्षालाई विद्याज्योति माविमा, वडा नं ४ को भवानी प्राविको १ भन्दा माथिको कक्षालाई फड्के ढुङ्गा आधारभूत विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी वडा नं ४ को सरस्वती प्राविको ३ भन्दा माथिको कक्षालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नं ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिका कक्षालाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिका कक्षालाई देविस्थान प्राविमा र धवला प्राविका सबै कक्षालाई ग्रामप्रकाश माविमा समायोजन गरिएको छ ।

वडा नं ५ को पञ्चमूल प्राविका ३ कक्षाभन्दा माथिकालाई देविस्थान प्राविमा, गद्देश्वर प्राविको ३ भन्दा माथिका कक्षालाई मालिका आधारभूत विद्यालयमा, वडा नं ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षाभन्दा माथिका कक्षालाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ कक्षाभन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा समायोजन गरिएको छ ।

वडा नं ७ को भूमे प्राविको ३ भन्दा माथिका कक्षा, ज्योति प्राविका १ भन्दा माथिका कक्षा, सरस्वती प्राविका १ भन्दा माथिका कक्षा र देउराली प्राविका ३ भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा समायोजन गरिएको छ ।

सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा समायोजन गर्ने निर्णय भएको छ । वडा नं ८ को जनजागृति प्राविको १ कक्षाभन्दा माथिका कक्षाहरू जनकल्याण माविमा समायोजन गरिएको छ ।

अहिले कक्षामात्रै समायोजन गरिएको र विद्यार्थी सङ्ख्या अझै घटेमा पूरै विद्यालय नै समायोजन गरिने अध्यक्ष आचार्यले जानकारी दिए । उनले भने, ‘विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको हाललाई अस्थायीरूपमा कक्षा घटुवा गरी नजिकको अर्को विद्यालयमा समायोजन गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस