नदी किनारमा बालुवा छान्दै गर्दा भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना । उनी मुस्किलले कक्षा २ मा पुगेका छन् । निरन्तर कक्षा एकमा अनुत्र्तीण हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ ।
उनी अहिले पनि नियमित विद्यालय जाँदैनन् । ‘विद्यालय गयो भने मेरो घरमा बिहान र बेलुकी खान पुग्दैन,’ उनले भने, ‘घरमा इजा (आमा) मात्रै छन् । अहिले विद्यालय जान मन लाग्दैन । काममै ठीक छु ।’
नेपालको संविधानले सबैलाई निःशुल्क आधारभूत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो ।
सरकारले पछिल्लो समय ‘हामी सबैको इच्छा, अनिवार्य र आधारभूत निःशुल्क शिक्षा’ मूल नारा एवं ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ नाराका साथ विद्यार्थी भर्ना विशेष अभियान देशव्यापी रूपमा सञ्चालन गरेको छ । तर, वादी समुदायका अधिकांश बालबालिका निःशुल्क आधारभूत शिक्षाको पहँुचमा छैनन् ।
अढाइ वर्षअघि रानाका बुबा जगदीश दमाईको मृत्यु भएपछि बेसहारा बनेका तीन बालबालिका २६ वर्षीया आमा जानकी दमाईको पालनपोषणमा हुर्किंदै छन् ।
राना भन्छन्, ‘तीन जना भाइबहिनी छौं, ७ वर्षीय अजय कक्षा १ र ३ वर्षीया कलावती शिशु कक्षामा ।’घरमा पैसा कमाउने आमा मात्रै छिन् । आफ्नो घर छैन । अहिले गोकुलेश्वरको चौलानी किनारमा बालुवा र गिटी कुटेर दैनिक छाक टार्ने गरेका छन् उनले । भाइबहिनी पढाउने उनको इच्छा छ ।बुबाको मृत्युपछि घरमा झनै समस्या भएको छ ।१० वर्षीया रविना हुड्के पनि नियमित विद्यालय जाँदिनन् । उनी कक्षा ३ मा अध्ययन गर्छिन् । उनी बिहान र बेलुकी आमासँगै गिटी कुट्छिन् ।
शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर बजारमा बसोबास गर्ने वादी समुदायका दुई दर्जन बढी बालबालिका शिक्षा प्राप्त गर्नबाट वञ्चित छन् ।
वादी समुदायका बालबालिका भर्ना भए पनि निरन्तर विद्यालय जान सक्दैनन् । वादी बस्ती गोकुलेश्वर मावि, क्याम्पसलगायत आधा दर्जन विद्यालयको छेउमै पर्छ । तर, यहाँका बालबालिका विद्यालय होइन, चमेलिया नदी किनार र सडक पेटीमा भांैतारिरहेका हुन्छन् ।
उनीहरु चमेलिया नदी किनारमा माछा मार्ने तथा आमाबुबासँगै गिटी कुट्ने र भारी ओसार्ने काम गर्दै आएका छन् ।गोकुलेश्वर माध्यमिक विद्यालयको चालू शैक्षिक सत्रको तथ्यांकअनुसार वादी समुदायका २४ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयका प्रधानाध्यापक धनञ्जय जोशीका अनुसार शिशु कक्षामा २ छात्र र २ छात्रा गरी ४, कक्षा १ मा ५ छात्र र ७ छात्रा गरी १२, कक्षा २ मा १ छात्र र १ छात्रा गरी २, कक्षा ३ मा १ छात्रा, कक्षा ४ मा ३ छात्रा, कक्षा ५ मा ३ छात्रा र कक्षा ६ मा १ छात्रा गरी २६ बालबालिका भर्ना भएका छन् । योभन्दा माथिल्लो तहमा वादी समुदायका बालबालिकाले पढ्न सकेका छैनन् ।
भर्ना भएकासमेत कहिलेकाहीँ मात्रै विद्यालय पुग्ने गरेको प्रध्यानाध्यापक जोशीले बताए । सरकारले वादी समुदायका बालबालिकालाई विद्यालय भर्ना भएबापत भत्ता र दैनिक उपस्थितिका आधारमा समेत भत्ता व्यवस्था गरेको छ तर उनीहरू विद्यालय आउँदैनन् । बालबालिका भारी बोक्ने, गिटी र बालुवा निकाल्ने, छलिया नाँच गर्ने, माछा मार्नेलगायतका काममा लागेर दिनचर्या बिताउँछन् । आजको राजधनी दैनिकम समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ असोज २०७५, ०७ : ३८
लेखकबाट थप