आज संविधान दिवश नभई कालो दिवश हो : प्रेम कुमार श्रेष्ठ

बुधबार, ०३ असोज २०७५, १७ : १६
आज संविधान दिवश नभई कालो दिवश हो : प्रेम कुमार श्रेष्ठ

चितवन । देशभर धुमधामका साथ राष्ट्रिय दिवशका रुपमा चौथो संविधान दिवश मनाइरहँदा राष्ट्रिय जनता पार्टी नेपालले भने देशैभर आजको दिनलाई कालो दिवशको रुपमा मनाएको छ । यसैक्रममा राजपा नेपाल जिल्ला समिति चितवनले कालिका नगरपालिका वडा नं. २ पदमपुरमा आयोजित कार्यकर्ता भेला एवम् विरोध कार्यक्रमको आयोजना गरी आजको दिन संविधान दिवश नभई कालो दिन भएको जनाएको छ । 

राजपा नेपालका जिल्ला अध्यक्ष प्रेम कुमार श्रेष्ठले संविधान जारी भएको ३ वर्ष पुरा भइसक्दा पनि जनजाती, आदिवासी, मधेसी, अल्पसंख्यकको पक्षमा यो संविधान नभएको भन्दै आजको दिनलाई कालो दिवशको संज्ञा दिएका छन् । 

सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिए पनि व्यवहारमा लागु नभएको भन्दै जिल्ला अध्यक्ष श्रेष्ठले आजको दिनलाई कालो दिवशको रुपमा मनाएर सरकारलाई दवाव दिनुपर्ने समेत बताए । जिल्ला अध्यक्ष श्रेष्ठले नारामा मात्र हिमाल, पहाड, तराई कोही छैन पराई भनिएको छ, व्यवहारमा पनि सबैलाई समेटेर लान समेत उनले सरकारलाई आग्रह समेत गरे । 

कार्यक्रममा राजपा महिला संघकी अध्यक्ष मञ्जु रानाले महिला, दलित, उत्पीडित, मधेशी लगायत सबैलाई यो संविधानले समान रुपमा हेर्न नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको उनले बताइन् । कार्यक्रममा राजपाको भातृ संगठन युवा मञ्चका जिल्ला अध्यक्ष श्याम चौधरी, उपाध्यक्ष दिपक लामा, राजपा जिल्ला सहकोषाध्यक्ष एलिमा मिया लगायतले मन्तव्य व्यक्त गरेका थिए । बिरोध कार्यक्रममा जिल्ला उपाध्यक्ष खुशीराम थिङ, नरेश कुमार सिंह, सचिव बलराम सिलवाल लगायतका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस