हुम्ला । हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।
जिल्लाका उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताए । कक्षा एकदेखि कक्षा १० सम्मका सबै सबै पुस्तक पुर्याएको उनले बताए।
उनले लिमीको सुनखानी विद्यालयमा पुर्याउन यतिबेला सडकमा हिउँ जमेर आवतजावत बन्द भएका कारण पाठ्यपुस्तक पुर्याउन नसकिएको बताए । यता ज्ञानु पुस्तक पसलले पनि सर्केगाड गाउँपालिकाका ३२ विद्यालयमा पाठ्यपुस्तक पुर्याउने कार्य पूरा भएको जनाएको छ । यसअघि कक्षा ५ सम्म पुगे पनि चैतको दोस्रो हप्तापछि कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक प्रत्येक सामुदायिक विद्यालयमा पुगेका हुन् ।
जिल्लाको दक्षिण भेगमा रहेका चार गाउँपालिकामा पुस्तक ढुवानीको जिम्मा लिएका एलबी सप्लायर्सका सञ्चालक लोकेन्द्र भण्डारीले पनि आफ्नो जिम्मामा रहेका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याएको बताए । गाउँपालिकाका अनुसार ताँजाकोटमा १७, अदानचुलीमा १९, चङ्खेलीमा २२ र खार्पुनाथका १७ विद्यालयमा पाठ्यपुस्तक पुर्याइसकेको भण्डारीले बताए ।
कक्षा १ देखि ५ सम्म फागुनमा पुस्तक पुर्याएको भए पनि चैत दोस्रो हप्तायता बाँकी सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्याउने कार्य भएको उनले बताए । हुम्लाका चार गाउँपालिकाका विद्यालयका लागि ३६ हजार थान पुस्तक सप्लायर्सले बुझेर लिई जिल्लामा पुर्याएर बिक्रीसमेत गरेको जनाइएको छ । बाँकी तीन गाउँपालिकाका लागि केन्द्रको सुर्खेत डिपोबाट वितरण गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले जिल्लामा कूल विद्यालयका २१ हजार ६८ विद्यार्थीको हात हातमा पुस्तक पुगेको जानकारी दिए । सबै कक्षाका विद्यार्थीलाई हातहातमा पुस्तक पुगेपछि पठनपाठनमा पनि सहज भएको छ ।
दुर्गम जिल्ला हुम्लामा गत वर्ष र यस वर्षको शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेका हुन् । समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीलाई पठनपाठनमा सहज हुने भएको छ । हुम्लाका विद्यालयमा गत फागुन ९ गते यता पढाइ सुरु हुन थालेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ चैत्र २०८०, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा पुग्यो पाठ्यपुस्तक
स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी
१ करोड २० लाख पाठ्यपुस्तक वितरण, थप ५५ लाख तयारी अवस्थामा
वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो
पाठ्यपुस्तक समयमै पुग्दा नतिजा सुधारोन्मुख
जुम्लामा पनि पुग्यो पाठ्यपुस्तक