ढुवानी व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक छ : मन्त्री भण्डारी

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १२ : ०३
ढुवानी व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक छ : मन्त्री भण्डारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् ।ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उनले व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।

उनले ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरेका छन् ।मन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरु व्यवसायीलाई आउन नदिएको गुनासो आएको बताए । ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न उनको आग्रह थियो ।​​

त्यस अवसरमा व्यवसायीहरूले आर्थिक वर्ष २०७६/७७ मा आफूहरूले मूल्य अभिवृद्धि कर नलिए पनि सरकारले तिर्नुपर्ने देखाएको भन्दै मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष माधव नेपालले बताए ।

चालू आवमा सरकारले सो १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई ‘स्किम’ का रुपमा पाँच प्रतिशत तिर्न भने पनि आफूहरूले सो अनुसारले कारोबार नगरेकाले मिनाहाका लागि सरकार समक्ष माग गरेको उनले बताए ।

ढुवानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै महासङ्घले त्यसको खारेजीको माग गरेको छ । सो करले समग्र व्यापार व्यवसाय तथा आम उपभोक्तामा महङ्गी सिर्जना गरेको महासङ्घको दाबी छ ।

महासङ्घले देशका ठूला शहरमा ढुवानी ग्राम बनाउन पनि माग गरेको छ ।नमूनाका रुपमा बुटवलमा सरकार र ढुवानी व्यवसायीको लगानीमा रु ३० करोड लागतमा ढुवानी ग्राम निर्माणाधीन रहेको अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस