मौसम खुलेसँगै शुरू भयो १ हप्तादेखि प्रभावित मन्थली–लुक्ला उडान

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, १३ : १९
मौसम खुलेसँगै शुरू भयो १ हप्तादेखि प्रभावित मन्थली–लुक्ला उडान

रामेछाप। खराब मौसमका कारण एक हप्तादेखि प्रभावित बनेको सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज बिहानबाट उडान शुरू भएको छ ।यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए ।

सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पुर्‍याइएको थियो । साथै सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो ।

आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान शुरू भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताए ।मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ ।

लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताए ।

प्रतिक्रिया दिनुहोस