काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ। आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।
कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गरेका छन् ।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो ।
यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने पौडेलले बताए । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।
देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो । त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिँदै छन् ।
जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेका हुन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्न पत्र र उत्तर पुस्तिकालगायतका सामग्री यसअघि नै सम्बन्धित जिल्ला पुर्याइएको थियो ।
प्रश्न पत्र ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइएको थियो । प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने पौडेलले बताए ।
परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन् । ७७ हजार ४८५ जना जनशक्ति परिचालन भएको पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समयतालिका
१० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
एसईईको ग्रेड वृद्धि बाट उत्तीर्ण विद्यार्थीको व्यवस्थापनमा समस्या
एसईई पूरक परीक्षाको नतिजा असोज पहिलो साता
आजदेखि एसईईको ग्रेड वृद्धि परीक्षा
गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक