काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खानेपानी मर्मत योजनामा आर्थिक अनियमितता गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ९ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाका इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब-इन्जिनियर हर्कधन बुढासहित उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढाविरुद्ध मुद्दा दायर भएको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा खानेपानी मर्मत योजनाको फिल्डमा काम नै नभए पनि काम सम्पन्न भएको भन्दै ५ लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
उनीहरूले नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी प्रतिवेदन बनाउने र उपभोक्तासम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेको अख्तियारको ठहर छ ।
चंखेली गाउँपालिका-३ का तत्कालीन वडाध्यक्ष सालीग्राम ऐडीले निर्माण कार्य सम्पन्न भई प्राविधिक अनुगमन मूल्यांकन भइसकेको भन्ने समेत व्यहोरा उल्लेख गरी भुक्तानीको लागि सिफारिस गरेको देखिँदा उनीविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मन्त्रिपरिषद् निर्णयमा अख्तियारको प्रवेशबारे आन्तरिक छलफलमा जुट्यो एमाले
प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर