न्यायाधीश खतिवडा आजदेखि अनिवार्य अवकाशमा

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, ११ : ५८
न्यायाधीश खतिवडा आजदेखि अनिवार्य अवकाशमा

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबारदेखि अवकाशमा गएका छन् । २०१५ साल फागुन २५ गते जन्मिएका खतिवडा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

२०३९ साल चैत ७ गतेबाट न्याय सेवामा प्रवेश गरेका खतिवडा सरकारी वकिल समूहबाट न्यायाधीश बनेका व्यक्ति हुन् । २०७३ साल साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका खतिवडाले साढे ७ वर्ष सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका छन् ।

खतिवडाले २०८० साउन २१ गतेबाट सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा उनले न्याय परिषद् सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए । सोही समयमा भएको जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रियामा भने उनको आलोचना भएको थियो ।

आफन्त र आफू अनुकूलका कनिष्ठ व्यक्तिलाई न्यायाधीश बनाएको र विवादमा आएका जिल्ला न्यायाधीशलाई समेत उच्च अदालतमा नियुक्त गरेको भन्दै उनको आलोचना भएको थियो ।

नजिर स्थापित गर्ने महत्त्वपूर्ण फैसलाहरूमा संलग्न भएका न्यायाधीश खतिवडा निर्भीक न्यायाधीशका रूपमा चिनिँदै आएका छन् ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णयविरुद्धको फैसलादेखि फास्ट ट्रयाकसम्बन्धी फैसलामा खतिवडाले निर्भिकता देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस