सिरिज जित्न नेपालले दियो नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १३ : ५४
सिरिज जित्न नेपालले दियो नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य

काठमाडौं। त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले उपाधि जित्न नेदरल्याण्ड्सलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको हो ।

नेपालका लागि आशिफ शेखले ४७ रन बनाए । ३१ बल खेलेका उनले एक चौका र तीन छक्का प्रहार गरे । यस्तै, गुल्सन झाले २४ रन बनाए । कुशल मल्ल २६, रोहित पौडेल २५, कुशल भुर्तेल २० र करण केसी ९ रन बनाएर आउट भए ।

दीपेन्द्र सिंह ऐरी भने एक रन मात्रै बनाएर आउट भए । आरिफ शेख शून्यमा आउट भए ।नेदरल्याण्ड्सका लागि लेभी र शीब्रयाण्ड, ​फ्रेड क्लास्सेन, टिम फान गुग्टेन र माइकलले दुई/दुई विकेट लिए । यसअघि तीन देश सम्मिलित शृंखलाको शीर्ष दुई स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का पारेका थिए । 

लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको शुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जीत निकालेको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो ।

तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र चौथोमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।