नेकपा क्रान्तिकारी माओवादीले भण्डाफोर अभियान गर्ने

मंगलबार, ११ पुस २०७४, ०९ : १८
नेकपा क्रान्तिकारी माओवादीले भण्डाफोर अभियान गर्ने

चितवन । नेकपा माओवादी क्रान्तिकारीको चितवनमा जारी केन्द्रीय समितिको बैठक सोमबार सम्पन्न भएको छ ।
सांगठनिक संरचनाको निर्माण लगायतका विषयमा निर्णय भएको बैठकमा निर्वाचनमा पार्टीले पाएको मतको समीक्षा समेत गरिएको महासचिव मोहन वैद्य किरणले जानकारी दिए । बैठकमा पार्टी संगठन संरचना निर्माणका लागि तीनमहिने अभियान सञ्चालन गर्ने, वर्तनमा सरकार र अहिलेको निर्वाचनका क्रममा भएका आर्थिक चलखेलबारे जनतामाझ भण्डाफोर गर्ने, सच्चा कम्युनिष्टहरुसँग कार्यगत एकता र पार्टी एकीकरणको कुरा अघि बढाउने लगायतका निर्णय भएको थियो । 
पाँच दिनसम्म चितवनको मंगलपुरमा सञ्चालन भएको बैठकमा राष्ट्रियता, जनतन्त्र, जनजीविका, जातीय, वर्गीय समस्या, लैंगिक समस्या र संविधानले सम्बोधन गर्न नसकेका विषयलाई जनपरिचालनबाट अघि बढाउने निर्णय समेत गरेको महासचिव वैद्यले बताए । उनले अहिले जनताले कम्युनिष्टको नाममा मतदान गरेको भएपनि वास्तविक कम्युनिष्ट नभएकालाई मतदान गरेको बताए । यस विषयमा जनतालाई बुझाउन नसक्दा आफूहरुले पराजय भोग्नु परेको उहाँले बताए । 
आफ्नो पार्टीले वाम गठबन्धनका कारण हार व्यहोर्नु परेको भन्दै बैठकले आगामी निर्वाचनलाई अहिले पाठ बनेको निष्कर्ष निकालेको छ । अहिले विजयी भएका व्याक्तिहरुले निर्वाचनलाई विकृतिकरणको प्रकृयामा लगेको भन्दै महासचिव वैद्यले देशमा अझै दिगो शान्ति नआउने र भ्रष्टाचारको अन्त्य नहुने बताए । 
देशको राजनैतिक अवस्थाको बारेमा संविधानले पुरानै राज्यसत्ताको संरक्षण गरेको भन्दै उनले पुरानो युगको अन्त्य नभई अझै राजनैतिक जर्जरताको अवस्थामा पु¥याएको बताए । उनले यस विषयमा स्थायी समितिले निर्णय गर्ने गरी बैठक सम्पन्न भएको बताए ।
 

प्रतिक्रिया दिनुहोस