काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको लिग चरणका खेल सकिएका छन्। सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमले एकअर्काबीच खेल्दा शीर्ष दुई टिम फाइनल पुगेका छन् भने शीर्ष चार टिमले एलिट कपका लागि स्थान पक्का गरेका छन्।
लिग चरणमा १० टिमबीच ४५ खेल भए। १० टिमले ९/९ खेल खेले। पुलिस लिग चरणका सबै खेल जित्दै १८ अंक जोड्दै अपराजित रहेर फाइनल पुग्यो। दुई खेलअघि फाइनलमा स्थान पक्का गरेको पुलिसले शुक्रबार भएको नवौं खेलमा सुदूरपश्चिमलाई ७८ रनले पराजित गर्यो।
दोस्रो स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको त्रिभुवन आर्मी क्लबले ७ खेल जितेर १४ अंक जोड्यो। आर्मीले अन्तिम खेलमा शुक्रबार गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्यो।अब शनिबार पुलिस र आर्मीबीच उपाधि भिडन्त भएपछि प्रधानमन्त्री कप सकिनेछ। १२/१२ अंक जोडेका बागमती प्रदेशले तेस्रो र मधेस प्रदेशले चौथो स्थान हात पारे। ६–६ खेलमा विजयी भएका दुवै टिमले एलिट कपमा स्थान पक्का गरे।
अब चार टिमबीच हुने एलिट कपमा पुलिस, आर्मी, बागमती र मधेसबीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षणको रूपमा डेब्यू गरेको एपिएफको कप्तानी राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलले गरे। तर एपिएफ यसपटक पाँचौँ स्थान सीमित बनेको छ । एपिएफले ९ मध्ये ५ खेल जितेर १० अंक जोड्यो । ४ खेलमा पराजित भएको एपिएफका लागि शीर्ष चारमा पुग्न नसक्नु दुखद पक्ष हो।
सुरुवातमा राम्रो प्रदर्शन गरेको सुदूरपश्चिम ८ अंक जोडेर छैटौँ भयो। उसले ९ मध्ये ४ खेल जित्यो भने ५ खेलमा पराजय भोग्यो।८ अंक जोडेको कर्णाली सातौँ भयो। कर्णाली सुदूरपश्चिमसँग रनरेटमा पछि पर्यो। उसले ४ खेलमा जित निकाल्यो भने ५ खेलमा पराजय भोग्यो।
आठौँ स्थानमा रहेको गण्डकीले २ खेल जित्न सक्यो भने ४ अंक जोड्यो। लुम्बिनी नवौं र कोशी दशौं स्थानमा रहे। लुम्बिनी र कोशीले एक एक खेलमा मात्र जित निकाल्न सके। लगातार आठ खेलमा पराजित भएको कोशीले अन्तिम खेलमा लुम्बिनीलाई पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ माघ २०८०, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीलाई हराएसँगै बलियो बन्यो आर्मीको फाइनल सम्भावना
प्रधानमन्त्री कप क्रिकेट : किरणको शतकको मद्दतमा सुदूरपश्चिम विजयी
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
प्रधानमन्त्री कपको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै
प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि