भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए ।
‘दुई नेताबीच नेपाल–भारत सम्बन्धमा भएका प्रगति र आपसी हितका विभिन्न इस्युमा छलफल भयो । प्रधानमन्त्रीले प्रचण्डसँग भएका विगतका संवाद स्मरण गर्नुभयो र नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गर्नुभएको मूल्यवान् योगदानप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो,’ भेटवार्तापछि मोदीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च तहमा भएको अन्तत्र्रिmयाबाट नेपाल–भारत सम्बन्धले उच्चतम गतिमा बढावा प्राप्त गरेको छ ।’
बिहीबार औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रचण्डले प्रधानमन्त्री मोदीसँग शनिबार शिष्टाचार भेट गरेका हुन् । मोदीनिवास ७ लोककल्याणमार्गमा करिब १ घन्टा लामो भेटवार्ता भएको थियो । प्रचण्डको सचिवालयका अनुसार वार्तामा नेपाल र भारतका प्रधानमन्त्रीको आपसी भ्रमण, बिमस्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे छलफल भएको थियो । ३१ भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा प्रचण्डको पछिल्लो राजकीय भारत भ्रमण स्मरण गर्दै मोदीले त्यसवेला भएका सहमति कार्यान्वयन हुने पनि उल्लेख गरेका छन् ।
‘नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासका विषयमा छलफल भएको थियो,’ प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
धार्मिक सर्किटदेखि सगरमाथाको पानीको चर्चा
प्रचण्ड–मोदी भेटवार्तामा धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरूको एक बृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरका रूपमा विश्वभर लैजान सहकार्य गर्नेबारे छलफल भएको थियो । प्रचण्डको सचिवालका अनुसार नेपाल–भारत सीमा समस्या
समाधानबारे पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरूको स्तरोन्नतिका विषयमा पनि चर्चा भएको थियो । भेटवार्तामा प्रचण्डसँग छोरी गंगा दाहाल तथा भारतका लागि कार्यवाहक नेपाली राजदूत भरतराज रेग्मी पनि थिए । प्रचण्डको सचिवालयले भनेको छ, ‘पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा भएका सकारात्मक समझदारी र सहमतिहरूलाई प्रभावकारी रूपले कार्यान्वयन गर्नेबारे छलफल भएको थियो ।’
पोलिटेक्निकल इन्स्टिच्युटमा चासो
पछिल्लोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले ०७३ को ३० भदौदेखि २ असोजसम्म भारतको राजकीय भ्रमण गरेका थिए । ३१ भदौमा मोदीसँग भएको द्विपक्षीय वार्तामा कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट बनाउने नेपालको प्रस्तावमा भारतले सहमति जनाएको थियो । ढिकुरपोखरी प्रचण्डको जन्मस्थान हो । ‘कास्की जिल्लामा पोलिटेक्निकल इन्स्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने विषयमा पनि ठोस रूपमा कुराकानी भए,’ प्रचण्डको सचिवालयले भन्यो ।
भारतले अनुदानमा पोलिटेक्निकल इन्स्टिच्युट बनाइदिने वचन दिएको थियो । प्रचण्डसँग २ वर्षअघिको वार्तामा मोदीले नेपाल–भारत सम्बन्ध ‘हिमालयको अखण्डता र गंगाको पवित्रता’मा आधारित रहेको बताएका थिए । मोदीले नेपाल–भारत सम्बन्ध एकआपसमा परिपूर्ण बनाउँदा दुवैलाई लाभ हुने पनि उल्लेख गरेका थिए । त्यसवेला काठमाडौं–लुम्बिनी रेलवेका लागि सर्भे गरिदिने प्रस्ताव मोदीको थियो । हल्दियाबाट नेपालको कोसी र गण्डकमा फेरी (साना पानीजहाज) सञ्चालनका लागि संयुक्त रूपमा काम गर्ने मोदीको प्रस्तावमा प्रचण्डले सहमति जनाएका थिए । यसपटक पनि ती वार्ताबारे स्मरण भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
स्वराज र सिंहसँग बेग्लै वार्ता
प्रचण्डले भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग शनिबार बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । प्रचण्डले सिंहको कार्यकालमा नेपालमा शान्तिप्रक्रिया अघि बढाउन गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।
विदेशमन्त्रीसँग कम्युनिस्ट पार्टीको एकीकरण, दुईतिहाइ बहुमतको सरकार गठनपछि नेपाल–भारत सम्बन्धमा भएका सकारात्मक विकासक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । स्वराजले प्रचण्डको सम्मानमा दिवाभोज आयोजना गरिन् । प्रचण्डले शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । औपचारिक भ्रमण सकेर प्रचण्ड आइतबार स्वदेश फर्किने कार्यक्रम छ । यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ भदौ २०७५, ०८ : २५
लेखकबाट थप