१६ औँ योजनाको निर्माण कुहिराको काग जस्तो भएको छ : उपाध्यक्ष पौडेल

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, १० : १४
१६ औँ योजनाको निर्माण कुहिराको काग जस्तो भएको छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुने गरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताएका छन् । उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताएका हुन् । 

उनले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औँ योजनालाई उपेक्षा गर्ने गरी योजना निर्माण गरिरहेको आरोप लगाए । उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिइरहेको बताए । उनले १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनाबद्ध विकासका अभ्यास, प्रयासहरू र तिनले दिएका अनुभवहरूको जगमा उभिएर वर्तमान र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिइरहेको दाबी गरे। 

उनले भने,‘मुलुक आगामी १६ औँ योजना निर्माणको चरणमा छ । १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनाबद्ध विकासका अभ्यास, प्रयासहरू र तिनले दिएका अनुभवहरूको जगमा उभिएर आज र भोलिको आवश्यकतालाई ठिक ढङ्गले पहिचान गरेर योजना निर्माणको काममा सरकार लाग्नुपर्ने हो । तर वर्तमान सरकार र सरकारको मातहतमा बनेको योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिएको छ । कुहिराको काग जस्तो भएको छ । उडान भरेको छ तर कता जाने हो थाहा छैन । यो सरकारको नेतृत्वमा रहेको योजना आयोगले कुनै गतिलो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्छ भनेर आशा गर्न सक्ने अवस्था छैन । हामीसँग पञ्चवर्षीय योजना बनाउने राम्रो अनुभव छ । राम्रो अनुभव अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको योजना आयोग र त्यो योजना आयोगले बनाएको १५ औँ योजना धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ । नेपालको योजनाबद्ध विकासमा डिपार्चर थियो । नयाँ दिशाबोध दिएको थियो । विकासका परम्परागत अभ्यासहरूलाई ब्रेक थ्रू गरेको थियो ।’

योजना आयोग १५ औँ योजनाका सकारात्मक योगदानहरूलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औँ योजनाले राष्ट्रिय दीर्घकालीन र आवधिक लक्ष्य निश्चित गर्ने गरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाए ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले योजना आयोगको १६ औँ योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गरे । उनले १६ औँ योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रूपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस