यू-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग भिड्दै

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, ०७ : ५९
यू-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग भिड्दै

काठमाडौ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा आज (आइतबार) नेपाल न्युजिल्यान्डसँग भिड्दै छ। 

पूर्वी लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सुरु हुनेछ। 

यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्ड तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको छ।

सन् २०१६ पछि फेरि यी दुई टोलीबीच भेट हुने भएको हो।एसिया कप खेलेको टोलीबाट मुख्य प्रशिक्षक जगत टमाटाले दुइ खेलाडी परिवर्तन गरेका छन्।

तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण बाहिरिँदा उनको स्थान तीव्र बलर दुर्गेश गुप्ताले लिएका छन्। टोलीमा अलराउन्डर दीपक बोहोरा थपिएका छन्। 

नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो। नेपालले पछिल्लोपटक सन् २०१६ मा बंगलादेशमा विश्वकप खेलेको थियो। 

नेपालको यो आठौँ विश्वकप हो। नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। 

नेपालले समूह चरणको दोस्रो खेल माघ १० गते पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।

विश्वकप तयारीका लागि नेपालले दक्षिण अफ्रिकामा चार अभ्यास खेल खेलेको थियो। तीमध्ये तीन खेलमा नेपाल विजयी हुँदा एक खेल भने वर्षाका कारण रद्द भएको थियो। 

समूह डीअन्तर्गत शनिबार भएको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको थियो। 

नेपाली यू-१९ टोली 
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द

प्रतिक्रिया दिनुहोस