राम मन्दिरको प्राण प्रतिष्ठा : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव केसी भारत प्रस्थान

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, १२ : ४९
राम मन्दिरको प्राण प्रतिष्ठा : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव केसी भारत प्रस्थान

काठमाडौँ । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन पशुपति क्षेत्र विकास कोषको तर्फबाट सदस्य सचिव राजु केसी भारत प्रस्थान गरेका छन् । उनी शनिवार बिहान भारत प्रस्थान गरेका हुन् ।भगवान् रामको जन्मभूमि अयोध्यामा निर्माण भएको राम मन्दिरको २२ जनवरीमा प्राण प्रतिष्ठा समारोहको आयोजना गरिएको हो ।

सो समारोहका लागि प्राण प्रतिष्ठा कार्यालयबाट भारत र विश्वभरका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हुने उक्त कार्यक्रममा साधु, सन्त, महन्त, भारतीय उद्योगपति, बलिउडकर्मीदेखि कलाकारहरूलाई आमन्त्रण गरिएको हो ।

सोही कार्यक्रममा विशिष्ट पाहुनाको रूपमै केसीलाई बोलाइएको बताइएको छ । पशुपति क्षेत्रविकास कोषका लागि धर्माचार्य–बाहन पास जारी भएको बताइएको छ  ।

राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा पशुपतिनाथका प्रतिनिधिलाई भारतीय पक्षले उच्च महत्त्व दिँदै विशिष्ट पाहुनाको रुपमा निम्ता दिँदै भारतले दुई देशबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई स्थान दिएको हो ।सत्तारुढ भारतीय जनता पार्टीले सो कार्यक्रमलाई आफ्नै प्रतिष्ठासँग जोडेर भव्य बनाउन खोजिरहेको कतिपयले टिप्पणी समेत गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस