अमेरिकाद्वारा शनिबार पनि हुथी विद्रोहीमाथि हवाई आक्रमण

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०८०, १२ : ४६
अमेरिकाद्वारा शनिबार पनि हुथी विद्रोहीमाथि हवाई आक्रमण

वासिङ्टन । अमेरिकाले शनिबार पनि यमनमा हुथी विद्रोहीको ठेगानामा हवाई आक्रमण गरेको थियो । अमेरिकी सेनाले शनिबार स्थानीय समय अनुसार बिहान ३ बजेर ४५ मिनेटमा यी हमला गरिएको बताएको छ ।

सेनाका अनुसार लाल सागरमा रहेको अमेरिकी नौसेनाको युद्धपोत यूएसएस कार्नीबाट टोमाहक मिसाइल प्रयोग गरी हमला गरिएको हो । यसअघि हुथी विद्रोहीको टिभी च्यानल अल–मसिराहले आज बिहानै यमनको राजधानी सानामा हवाई आक्रमण भएको जानकारी दिएको थियो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हुथी विद्रोहीलाई ‘आतंकवादी’ संगठन भनेका थिए । उनको भनाइ महत्वपूर्ण छ किनभने राष्ट्रपति बनेको एक महिनाभित्र जो बाइडेनले ट्रम्प सरकारको निर्णय उल्टाइदिएका थिए । ट्रम्प सरकारले हुथी विद्रोहीलाई ‘विदेशी आतंकवादी संगठन’ भनेको थियो।

यदि हुथी विद्रोहीहरूले यस्तो क्रूर मनोवृत्ति (जहाजमा आक्रमण) जारी राखे भने अमेरिकाले उनीहरूलाई जवाफ दिने बाइडेनले चेतावनी दिएका छन् ।मध्यपूर्वमा कच्चा तेलको मूल्य बढेको बारे उनले आफू निकै चिन्तित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस