सीबीफीनको वरिष्ठ उपाध्यक्षमा उपाध्याय र महासचिवमा श्रेष्ठ चयन​

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १४ : ४५
सीबीफीनको वरिष्ठ उपाध्यक्षमा उपाध्याय र महासचिवमा श्रेष्ठ चयन​

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन गरिएको छ ।​चौथो वार्षिक साधारणसभाबाट संशोधित  र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन गरिएको हो ।

संस्थागत कामकारबाहीमा कुनै किसिमको बाधा अड्चन नपरोस् भन्ने उद्देश्यका साथ कार्यसमिति बैठकले पदाधिकारी मनोनीत गरेको हो ।विधानबमोजिम कार्यसमितिको दुई वर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारी पदहरू रिक्त रहेका थिए ।

कार्यसमितिको यही पुस १९ गते सम्पन्न १३औं बैंठकले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत मनोनयन गरेको छ ।

विधान संशोधनपूर्व उपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्य पदको जिम्मेवारीमा रहेका थिए ।बैठकले मनोनयन गरेसँगै अध्यक्ष पवनकुमार गोल्यानले मनोनीत पदाधिकारीहरूको शपथग्रहण गराई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

शपथग्रहणपछि वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलगायत पदाधिकारीले आफूप्रति विश्वास र भरोसा गरी सर्वसम्मत मनोनयन गरेकोमा अध्यक्ष तथा कार्यसमितिप्रति धन्यवाद दिएका थिए ।साथै सीबीफीनले आर्जन गरेको मान प्रतिष्ठा, गरिमा र उपलब्धिहरूलाई अक्षुण्ण राख्दै थप उचाइमा पुर्‍याउन हरदम सक्रिय भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता थियो ।

यस्तै, बैठकले सीबीफीनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।​संशोधित विधानअनुसार सीबीफीनको १७ सदस्यीय कार्यसमितिमा नेपाल पूर्वाधार विकास बैंक र ‘क’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १० जना, ‘ख’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट वरिष्ठ उपाध्यक्ष र सचिवसहित ४ जना र ‘ग’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट उपाध्यक्ष र सहकोषाध्यक्षसहित ३ जना पदाधिकारी तथा सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस