काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
बिहीबार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा राजधानीमा छुट्टाछुट्टै प्रदर्शन हुने भए पनि आयोगले यस्तो आग्रह गरेको हो ।
प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरू मार्फत सार्वजनिक भएका सूचना तथा सामाचारहरुप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ ।
‘आयोगले यस सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरुमा आएका अभिव्यक्तिहरु एवम् सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका सामग्रीहरूलाई गम्भीर रूपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ । दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्तिहरु दिने जस्ता गतिविधिहरू भएको पाइएकोले यसबाट सर्वसाधारण नागरिकहरूमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।
लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयतता अपनाउनु प्रदर्शनकारीहरूकै प्राथमिक दायित्व हुने स्मरण गराएको छ । ‘अतः नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आयोग प्रदर्शनरत पक्षलाई आग्रह गर्दछ । शान्तिपूर्ण रूपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकहरुमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन विधेयक सरकारले नै रोकेको गुनासो
मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन शून्य प्रतिशत
पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : मानव अधिकार आयोग
लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : मानव अधिकार आयोग