काठमाडौं। चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ ।महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ ।
सरकारले चालू आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालूतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत छ ।
चालू आर्थिक वर्षका लागि सरकारले चालू शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन गरेको थियो । जसमध्ये हालसम्म रु दुई खर्ब ७१ अर्ब १७ करोड ४७ लाख बराबर खर्च भएको छ ।
पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबरको बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा रु २९ अर्ब ९८ करोड ९४ लाख बराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबरको बजेट विनियोजन भएकामा हालसम्म रु ५४ अर्ब ४६ करोड ९९ लाख बराबर खर्च भएको छ ।
सामान्यतया वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको रकम सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको छ । चालू आर्थिक वर्षमा पुँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्था शीर्षकमा बढी बजेट विनियोजन भएको थियो ।
शुरूवाती चार महिनाको खर्चको अवस्था हेर्दा पुँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ । अर्थात् नेपालले पूँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको खर्चको अंश बढी छ ।
पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २० दशमलव ०८ प्रतशित बराबर छ । चालू आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ ।
जसमा कर राजस्व रु दुई खर्ब ५४ अर्ब ३० करोड २२ लाख र गैरकर राजस्व रु २२ अर्ब ३३ करोड ७८ लाख बराबर छ ।
त्यस्तै, चालू आर्थिक वर्षका लागि रु ४९ अर्ब ९४ करोड ३० लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा रु दुई अर्ब ७५ करोड ८० लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अनुदान लिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’
गोरखाका स्थानीय तहमा ७ अर्बको बजेट, छैन आन्तरिक आम्दानी
लुम्बिनी प्रदेशकाे बजेट आज पास गर्ने तयारी
काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत
भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट (पूर्णपाठसहित)