काठमाडौँ । उज्यालोको पर्व तिहार आजदेखि सुरु भएकाे छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।
चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएकी गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन् । यादव खरेलले रचना गरेको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका हुन् ।
‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन् । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिनुभएको छ । निर्देशक तुलसी घिमिरेले चलचित्रमा तिहारको गीत र प्रसङ्गलाई कथावस्तु अनुसार नै प्रस्तुत गरेका छन् ।
मनिला सोताङले गाएकी चलचित्र ‘अन्याय’ मा समावेश गरिएको ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेकाे यस गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन् । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायत कलाकार प्रस्तुत भएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्ने गरेको छ ।
चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’ लगायतका गीतहरू तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक समिति
किन मनाइन्छ तिहार : यस्तो छ तिहार पर्वको महिमा
तिहार पर्व शुरु, आज धनतेरस मनाइदै
तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध