रुकुम पश्चिम। रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदै छ । सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख वितरण गर्न लागिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ । सानीभेरीमा भूकम्पमा परी १० जनाले ज्यान गुमाएका थिए । 'प्रति मृतकका परिवारलाई दुई लाखका दरले नगद दिइनेछ,' उनले भने ।
शनिबार आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने सहायक प्रजिअ बडुवालले बताए । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो । मृतकका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ ।
जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए ।
मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उनको भनाइ छ । जाजरकोटमा भूकम्पबाट एक सय एक जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे २२ बाख्रा
रुकुम पश्चिमका सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो