रामेछाप विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलट कारबाहीमा, विमानस्थल प्रमुख पनि निलम्बित

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १६ : ३९
रामेछाप विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलट कारबाहीमा, विमानस्थल प्रमुख पनि निलम्बित

काठमाडौं। रामेछाप विमानस्थलमा दुई पाइलटबीच भएको कुटाकुटमा उनीहरूसहित विमानस्थल प्रमुखलाई निलम्बन गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा दुई पाइलटबीच व्यक्तिगत इस्युका कारण भएको कुटाकुटलाई लिएर कुटपिट गर्ने पाइलटहरू वरिष्ठ क्याप्टेन सन्तोष साह, क्याप्टेन सञ्जीव श्रेष्ठ र विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको हो ।

शुक्रवार बिहान ८ बजे तारा एयरको ट्विनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका क्याप्टेन साह र सोही कम्पनीका अर्का क्याप्टेन श्रेष्ठबीच भनाभनदेखि कुटाकुट समेत भएको थियो । सोही कारण दुवै पाइलटको लाइसेन्स निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए ।

'ती दुईजना पाइलटबीच पर्सनल इस्यु भएको हुनसक्छ । एउटा पाइलट फ्लाइट गराएर आएको र अर्को फ्लाइट गर्न गएको अवस्थामा एउटाले अर्कोलाई धेलेकर लडाइदिएछ। त्यसपछि ती दुईबीच हानाहान र भनाभन पनि भएछ । त्यसक्रममा अर्को पाइलट लड्यो । त्यहाँ उपस्थित प्यासेन्जरले ती दुवै जनाबीचको झगडा छुटायो,' भूलले  भने ।

दुई पाइलटबीच झगडा भएको अवस्थामा समेत जहाज उडाउनुपर्ने पाइलटले प्यासेन्जरलाई लिएर लुक्लाका लागि उडेका थिए । पाइलटबीच झगडा भए पनि प्यासेन्जरको जीवनलाई समेत रिक्समा राखेर जहाज उडाउन अनुमति दिएका कारण प्राधिकरणले विमानस्थल प्रमुख थापालाई समेत निलम्बन गरेको उनले बताए ।

'यो केसमा ड्युटीमा भएको एउटा पाइलट र ड्युटीमा जान लागेको अर्को पाइलटबीच प्रोफेसनल लाइसेन्स लिँदा निर्वाह गर्नुपर्ने कोड अफ कन्डक्ट उल्लंघन गरेका कारण दुवैजना पाइलटलाई छानबिन गरेर कसको के दोष थियो भन्ने कुरा पत्ता नलागुञ्जेलसम्मका लागि लाइसेन्स निलम्बन गरेका छौं,' भूलले थपे,' दुवैजना पाइलटहरूले झगडा गरिसकेपछि पनि डिस्टर्ब मेन्टालिटीमा जहाज उडाउन दिने विमानस्थल प्रमुख थापालाई समेत निलम्बन गरेका छौं ।'

भूलले थपे, 'झगडा गरेको पाइलट अलिकति आवेगमा हुन्छ । अलिकति मेन्टली अन्स्टेबल हुन्छ ।  त्यो बेलामा जहाज उडाउन दिनु भनेको प्यासेन्जर र पाइलट दुवैको ज्यान रिस्कमा पार्ने काम हो । सोही कारण विमानस्थल प्रमुखलाई निलम्बन गरिएको हो ।'

उक्त प्रकरणमा सम्बन्धित कम्पनीले नै आफ्नो आन्तरिक छानबिन गर्न कमिटी गठन गरेको छ । उक्त कमिटीको रिपोर्टमा कसको के दोष हो भन्ने कुरा आउने हुनाले उक्त रिपोर्ट नआउञ्जेल तीनैजना निलम्बनमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस