विश्वकपमा छनोट भए नेपाली क्रिकेट टोलीलाई नोबेल अस्पतालले १५ लाख दिने

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, ११ : ००
विश्वकपमा छनोट भए नेपाली क्रिकेट टोलीलाई नोबेल अस्पतालले १५ लाख दिने

काठमाडौं। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनोट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ । सांसद डा. सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले नेपाली क्रिकेट टोलीलाई प्रोत्साहन गर्न बुधवार पुरस्कार घोषणा गरेको हो ।

विश्वकपमा छनोट हुन सफल भएमा नेपाली टोलीलाई १५ लाख र छनोटको फाइनल खेल जितेमा थप ५ लाख पुरस्कार प्रदान गरिने नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले जानकारी दिए ।

नेपाली क्रिकेट टोलीले देशको गौरव बढाउने गरी ऐतिहासिक सफलता हासिल गर्दै आएको छ,’ डा. शर्माले भने, ‘खेलाडीहरूलाई थप प्रोत्साहन गर्नका लागि पुरस्कार घोषणा गरेका हौं ।

 

पुरस्कार घोषणा गरिएको जानकारीसहितको पत्र बुधवार नोबेलका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई हस्तान्तरण गरेका छन् ।काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा सिंगापुर र मलेसियाविरुद्ध लगातार जीत निकाल्दै एक खेलअगावै नेपाल सेमीफाइनल पुगिसकेको छ ।

नेपालले बिहीबार ओमनको सामना गर्नेछ । सेमिफाइनल पुगेको नेपाली क्रिकेट टोली फाइनल प्रवेश गरेमा आगामी वर्ष अमेरिका र क्यानडामा हुने टी–२० विश्वकप क्रिकेट खेल्न अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस