काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले युनिट सरुवाको शुरूआत गरेको छ । पहिलोपटक नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं.७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेसनमा परस्पर सरुवा गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नं. १५ गणको ‘क’ गुल्म आश्रित गुल्मको रूपमा सिन्धुली जिल्लामा तैनाथ थियो भने नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीअन्तर्गत सिरहा जिल्लाको नं. ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रूपमा मातहत ३ वटा बिओपीसहित तैनाथ थियो ।
सशस्त्र प्रहरी बल नेपालको संगठनभित्र बाहिनी, गण, गुल्म र प्लाटुनलगायतका संरचना रहेका छन् । हाल काभ्रे र सिरहाका गण मातहत गुल्म तहको परस्पर सरुवा गरेता पनि भविष्यमा गण तहका इकाइहरूको समेत सरुवा गरिने योजना रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
इकाइगत अवधारणालाई प्रभावकारी बनाउन अर्धसैनिक फौज सशस्त्र प्रहरी बल नेपालका प्रत्येक इकाइहरूको आ–आफ्नै आदर्श वाक्य समेत तय गरिएको छ, जसले गर्दा इकाइमा कार्यरत कर्मचारीहरूको आफ्नो इकाइप्रति गौरवको भावना विकास हुने र सामूहिकताको भावना जागृत हुने विश्वास लिइएको प्रवक्ता खड्काले बताए ।
इकाइगतरूपमा सरुवा गर्दा सो इकाइमा कार्यरत कर्मचारीहरूमा एकता, भातृत्व तथा भागिनत्व प्रगाढ हुने, एकअर्काको बारेमा सम्पूर्ण जानकारी अध्यावधिक हुने, आदेशको शृंखला अझ प्रभावकारी रूपमा विकास हुने तथा इकाइप्रतिको अपनत्व अभिवृद्धि भई सकारात्मक सोच र सहयोगात्मक भावनाको विकास हुने तथा इकाइ सरुवा गर्दा फौजी अनुशासन र आचरणको समेत पालना हुने संगठनको विश्वास रहेको छ ।
यसरी इकाइगत सरुवा गर्दा व्यक्तिगत रूपमा काजमा बस्ने, अन्य इकाइमा सरुवा जान चाहने र कुनै व्यक्ति विभिन्न कारणले एकै स्थानमा लामो समयसम्म बस्ने प्रवृत्ति अन्त्य हुनेछ । त्यसैगरी सीमा इलाकामा लामो समयसम्म एउटै स्थानमा फौज कार्यरत रहेका कारण आउने गुनासाहरू पनि बन्द हुने अपेक्षा संगठनले गरेको वरिष्ठ उपरीक्षक खड्काले बताए ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी काजसम्बन्धी नयाँ मापदण्ड तयार पारी लागू गरिसकेको छ ।
मापदण्डअनुसार वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरूले अधिकतम ६ महिना अवधिका लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिन सक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ ।
काज स्वीकृत भएका कर्मचारीले ६ महिनाभन्दा बढी काज बस्नका लागि कबुलियतनामाको फारम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भएअनुसारको शर्तनामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसकेपश्चात लागु हुनेछ ।
६ महिना काज सुविधापश्चात कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने छ । सशस्त्र प्रहरी बल नेपालको युनिट सरुवाको नीतिले समस्या दर्शाई काज बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत टेवा पुर्याउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
बिरगंजको विभिन्न ठाउँमा रहेका गोदाममा सशस्त्र प्रहरीको छापा , ४४ लाख बढिको अवैध सामान बरामद
सशस्त्र प्रहरीद्धारा नेपाल चीन सीमाका स्तम्भको अनुगमन
सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीमाथि कारबाहीको तयारी
सशस्त्र प्रहरीले बरामद गर्याे साढे २३ लाखको काजु र किसमिस
सशस्त्रको एक फौज २४ सै घण्टा सीमा गस्तीमा