बैतडी । भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पुल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो ।
भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमानाकामा आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एक दिनका लागि पुलमा आवागमन बन्द गरिएको हो ।
यसअघि सीमा क्षेत्रमा नेपाल–भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो ।
तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला काम चलाउका लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा यहाँ आवतजावत गर्ने मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
झुलाघाट नाका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ असोज २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतको अग्लो झोलुङ्गे पुलबाट भिरमा खसेका पुरुषको सकुशल उद्धार
प्रधानमन्त्री प्रचण्डले गरे कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन
झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
श्रीलङ्का टापु जोड्न सप्तकोशीमा झोलुङ्गे पुल बन्ने
कर्णालीमा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण