काठमाडौँ । सहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सहरी विकास मन्त्रालयले सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको बताए । जसअनुसार सय दिनको अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताए ।
विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको बताए । प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रय स्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको बताए ।
जसअनुसार कालिकोटको तिलागुफा नगरपालिकामा ४० जना अट्ने, जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना, महोत्तरीको जलेश्वर नगरपालिकामा सय जना र सप्तरी तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने भने अनुसार दुईवटा पूर्ण रुपमा सम्पन्न भएको र बाँकी दुई वटाको भवनहरू बनिसकेको र बाथरुमको केही मात्रै बाँकी रहेको जानकारी दिए ।
सय दिनको बीचमा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने निर्णय गरेअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भवन, सोलुखुम्बु, लुमरुपा आयुर्वेद औषधालय भवन, पाँचथर, डडेलधुरा उप क्षेत्रीय अस्पताल भवन, डडेलधुरा, इसिवु स्वास्थ्य चौकी भवन, तेह्रथुम, बाह्रेकटौरे स्वास्थ्य चौकी भवन, महालक्ष्मी नगरपालिका, धनकुटा, मूर्तिढुंगा स्वास्थ्य चौकी भवन महालक्ष्मी नगरपालिका, धनकुटा, थोक्लुङ स्वास्थ्य चौकी भवन गरी सात वटा सम्पन्न गरेको बताए ।
जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनः निर्माणको लागि आयोजना कार्यान्वयन इकाई स्थापना गरी जनशक्ति खटाइएको बताए ।
भौतिक सुविधासहित कार्यालय प्रमुख गइसकेको जानकारी दिए । भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास निर्माणका लागि सबै मन्त्रीलाई सार्ने भन्ने लक्ष्य लिएकोमा सो लक्ष्य पनि पूरा गरिसकेको बताए । दमक व्यापारिक कम्प्लेक्स र चितवनको सौराहा सभा हल निर्माण कार्य सम्पन्न भइसकेको बताए ।
सचिव गेलालले थापाथलीस्थित नेपाल राष्ट्र बैंक बैङ्किङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा सम्पन्न गरी राष्ट्र बैङ्कलाई हस्तान्तरण गरिसकेको बताए । नेपालको सबैभन्दा लामो त्रिवेणी—सुस्ता बहुत्तरी झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याएको र गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन गर्ने कार्य निर्माणाधीन रहेको बताए । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय अब छिटै हुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा
युएन पार्कको झोलुङ्गे पुल बागमतीले बगायो
स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण
नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो