सांसद शाहीको शैक्षिक योग्यतादेखि वैवाहिक जीवनमाथि नै गम्भीर प्रश्न

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, १४ : ३८
सांसद शाहीको शैक्षिक योग्यतादेखि  वैवाहिक जीवनमाथि नै गम्भीर प्रश्न

अनुषा थापा

सांसद ज्ञानेन्द्र शाहीको शैक्षिक योग्यतादेखि लिएर वैवाहिक जीवनमाथि नै गम्भीर प्रश्न उठेको छ । जुम्लाको सिञ्जा गाउँपालिका–३, नाराकोटका उनी यसअघि पनि पटक–पटक विवादमा तानिइसकेका छन् । पोहोर सुर्खेतमा कुटाइ खाएको कुरालाई उनले राजनीतिको खुड्किलो बनाएका थिए । हाल राप्रपाको प्रवक्तासमेत रहेका उनको शैक्षिक योग्यता नै शंकास्पद रहेको पाइएको छ । 

एसएलसीको सर्टिफिकेटमै खोट देखिएको छ । जुम्लाको कैलाश माविबाट वि.सं. २०६३ सालमा एसएलसी दिएका हुन् । सिम्बोल नम्बर (०६३०२५१ के) भएका उनले २०७२ सालमा बल्ल एसएलसी उत्तीर्ण गरेका थिए । त्यस्तै, संघीय संसद् सचिवालय र निर्वाचन आयोगमा पेश गरेको विवरणसमेत बाझिएको छ । आयोगसमक्ष प्रस्तुत विवरणमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण भन्ने व्यहोरा उल्लेख छ । 

त्यस्तै, संघीय संसद् सचिवालयमा बुझाइएको वैयक्तिक विवरणमा सिए अध्ययनरत भनिएको छ । तर, उनले कक्षा १२ उत्तीर्ण गरेको आधिकारिक रेकर्ड कतै छैन । एसएलसी सकाएपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनी त्रिचन्द्र क्याम्पसमा भर्ना भएका थिए । विज्ञान संकायमा रहँदा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनमा सक्रिय थिए ।

कक्षा १२ को परीक्षा नदिइकन सानोठिमी क्याम्पसमा भर्ना भए । त्यससँगै भक्तपुर बहुमुखी क्याम्पसमा पनि भर्ना गरे । तर, शाहीको रजिष्ट्रेशन नम्बरबाट कक्षा १२ को प्रमाण खोज्दा भेटिँदैन । रोचक विषय के भने वि.सं ०६७ सालसम्म कक्षा १२ को परीक्षा दिइरहेको देखिन्छ भने त्योभन्दा एक वर्षअगाडि नै भारतको बिहारबाट कक्षा १२ को सर्टिफिकेट निकालिएको छ । 

तत्कालीन ‘हाइयर सेकेण्डरी एजुकेशन बोर्ड, नेपालबाट’ कक्षा १२ को परीक्षा दिइरहेका उनले बिहारबाट कसरी सर्टिफिकेट निकाले ? जबकि उनी त्यतिबेलासम्म नेपालमै थिए । त्यसपछि सिए अध्ययनका लागि भनेर भारत गएका शाही कुनै शिक्षण संस्थामा भर्ना भएको रेकर्ड छैन । उनको शैक्षिक प्रमाणपत्र कीर्ते भएको स्रोत बताउँछ । स्रोतका अनुसार शाहीको एसएलसीसम्मको सर्टिफिकेट आधिकारिक र त्यसपछि कीर्ते गरेर निकालिएको हो । 

सांसद शाही र एक जना महिलाको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुवैजना बेहुला बेहुलीको पहिरनमा एकअर्कालाई अंगालो हालिरहेका छन् । दुबोको माला लगाएर, एकअर्काको हात समाएर खिचेको फोटोले निकै चर्चा पाएको छ । ती महिला को हुन् ? उत्सुकताको विषय बनेको छ । किनकि शाहीले अहिलेसम्म पनि आफ्नो विवाहबारे खुलाएका थिएनन् । अविवाहित ठानिएका सांसदको एकाएक त्यस्तो तस्बिर सार्वजनिक भएपछि प्रश्न उठ्नु स्वाभाविकै हो । शाहीसँग तस्बिरमा देखिएकी महिला इन्दु सिंह हुन् । पेशाले नर्स इन्दुलाई शाहीले विभिन्न आश्वासन देखाएर विवाह गरेका थिए । तनहुँ घर भएर भक्तपुरको सूर्यविनायकमा व्यवसाय गर्दै आएका प्रेम सिंहको छोरी इन्दुसँग उनको सानोठिमी क्याम्पस पढ्दा चिनजान भएको थियो । 

त्यहींबाट प्रेम सम्बन्ध शुरु भयो तर इन्दुको परिवार शाहीसँग छोरीको सम्बन्ध स्विकार्न तयार थिएन । शाही भारत जानुअगावै उनको परिवारले यो कुरा थाहा पाइसकेको थियो । सिए अध्ययनका लागि भारत गएका शाही फर्किंदा इन्दु चितवन मेडिकल कलेजमा नर्सिङ अध्ययनरत थिइन् । 

इन्दुकै कलेजमा पुगेर उनले विवाहको लागि दबाब दिए । आफूसँग विवाह नगरे नारायणी नदीमा हाम्फालेर ज्यान दिने भनी ‘ब्ल्याकमेलिङ’ गरे । आत्महत्या गर्ने धम्की आएपछि इन्दुले विवाहका लागि सहमति जनाइन् । उनीहरूले ६ वर्षअगाडि गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा विवाह गरे तर जे उद्देश्यका लागि शाहीले विवाह गरेका थिए, त्यसको ठ्याक्कै उल्टो भइदियो । उनले इन्दुलाई माओवादी नेता एवं पूर्व कानुनमन्त्री प्रेमबहादुर सिंहको छोरी ठानेका थिए ।

पूर्वमन्त्रीबाट काठमाडौंको बानेश्वरमा घर पाइने आशमा थिए, शाही । तर उनको सपना केही दिनमै टुट्यो । उनले इन्दु पूर्वमन्त्री सिंहको छोरी नभएको थाहा पाए । साथै, इन्दु दलित भएको पनि खुल्यो । ठकुरीको छोरी भन्ठानेका शाही त्यसपछि इन्दुसँग टाढिन थाले । इन्दुले पटकपटक विवाह दर्ता गर्न आग्रह गरिन् तर उनले मानेनन् । 

दलित भएकै कारण शाहीको परिवारले इन्दुलाई बुहारी स्विकारेको छैन । श्रीमान्ले उनलाई श्रीमतीको दर्जासमेत नदिएको अवस्था छ । शाहीकै कारण इन्दुले पटकपटक आत्महत्याको प्रयास गरिसकेकी छन् । सुर्खेतस्थित अस्पतालमा कार्यरत हुँदा एक पटक आत्महत्याको कोसिस गरेकी थिइन् । अस्पतालको भवनबाट हाम्फालेपछि उनलाई हेलिकप्टर चार्टर गरेर माइती पक्षले काठमाडौं ल्यायो । राष्ट्रिय ट्रमा सेन्टरमा २५ दिनको बसाइपछि उनी घर फर्किएकी थिइन् । 

श्रीमतीमाथि उक्त घटना भएको सात दिनपछि मात्र शाही अस्पताल पुगे । त्यतिबेला इन्दुको भाइले शाहीमाथि हातपात गरे । हाल इन्दुको परिवारले शाहीविरुद्ध राष्ट्रिय महिला आयोग र दलित आयोगमा उजुरी दिन लागेको बुझिएको छ । इन्दुसँग वैवाहिक सम्बन्ध हुँदाहुँदै पनि उनले अन्य थुप्रै युवतीसँग अनैतिक सम्बन्ध गाँसेको स्रोतले बतायो । बाग्लुङकी एक जना नर्ससँग त विवाह नै गरेको स्रोतको दाबी छ ।

दोस्रोपटक लकडाउन हुँदा बोधिसत्व बिहार भन्ने संस्थाले पश्चिम नेपालमा मेडिकल सामग्री वितरण गरेको थियो । शाही पनि मेडिकल सामग्री बाँड्ने टोलीमा थिए । टोलीमा गएकी एक जना खड्का थरकी युवतीलाई ललाईफकाई पारे । आफूलाई अविवाहित बताउँदै विवाहको प्रस्ताव राखे । बाग्लुङको एउटा मन्दिरमा सट्याकसुटुक विवाह पनि भयो । 

त्यसपछि उनीहरू सुर्खेत गए । राहत बाँड्न हिँडेका उनीहरूमाथि वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा आक्रमण भयो । प्रहरीको भने सो आक्रमण नभई मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको भनाइ छ । यद्यपि, शाहीले आफ्नो लोकप्रियतादेखि डराएर सत्ता पक्षका व्यक्तिहरूले आक्रमण गरेको बताएका थिए । 

त्यहाँका स्थानीयले शाही महिलाहरूसँग आपत्तिजनक अवस्थामा भेटिएपछि विवाद चर्किएको र दोहोरो झडप भएको बताएका थिए । यति हुँदासमेत उनको हर्कत रोकिएन । धादिङ घर भएर काठमाडौं बस्दै आएकी भट्टराई थरकी एक जना युवतीसँग ‘लिभिङ टुगेदर’ मा रहे । शाहीले उनलाई ‘पुकु’ भनेर बोलाउने गर्थे । ललितपुरको चाङ्गाथलीस्थित गोपाल चोकमा रहेको एक जना बस्नेतको घरमा शाहीले पुकुलाई आफूसँगै राखेका थिए । 

शाहीले पुकुलाई विवाह गर्ने बचन दिएको कुरा इन्दुको कानमा पर्‍यो । त्यसपछि नै उनी सुर्खेतस्थित अस्पतालबाट हाम्फालेकी हुन् । यो घटनापछि शाही र इन्दु काठमाडौंस्थित शक्ति ठकुरीको घरमा सँगै बस्थे । तैपनि श्रीमानको आनीबानी नसुध्रिएपछि इन्दुले पुनः आत्महत्याको कोसिस गरिन् । 

इन्दुले नै फेक आईडीमार्फत विवाहको तस्बिर सार्वजनिक गरेको र हाल उक्त विषयले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको अवस्था छ । शाहीले उनकी श्रीमतीलाई सामाजिक सञ्जाल चलाउनसमेत बन्देज गरेका छन् । संघीय संसद् सचिवालयमा पेश गरेको विवरणमा श्रीमतीको नाम इन्दु शाही उल्लेख छ । यता, निर्वाचन आयोगको वैयक्तिक विवरणमा भने पति–पत्नीको नाम लेख्न राखिएको ठाउँ खाली छाडिएको छ । 

शाहीका स्वकीय सचिव प्रकाशसिंह नायकले उनको व्यक्तिगत कुरा उठाइरहन जरुरी नभएको बताए । विवाह गर्ने–नगर्ने व्यक्तिको नितान्त निजी विषय भएको उल्लेख गर्दै उनले भने, ‘सबैको सार्वजनिक र व्यक्तिगत जीवन हुन्छ । सार्वजनिक रूपमा गरेका कामहरूलाई मात्रै महत्व दिऊँ होला ।’ (जनआस्थाबाट)

प्रतिक्रिया दिनुहोस