वीरगन्ज । वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ) सुरु गरेको छ ।
बढ्दो सहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको थालनी गरेको हो। नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख राजेशमान सिंहले बताए।
महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो।
गणकले आवश्यक तथ्याङ्क सङ्कलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउनेछन्। वीरगन्ज महानगरपालिका १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगरप्रमुख सिंहले नम्बरप्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली सुरवात गरेका छन्।
आदर्शनगर चोकबाट ठाकुरराम क्याम्पससम्मको सडकलाई पशुपति घोषमार्ग नामकरण गरी दुई सय ३० नम्बरको नम्बरप्लेट टाँस गरिएको छ।
सडकको चोक तथा मिलनविन्दु (दोबाटो र चौबाटो)देखि कुनै निश्चित घरको दूरी (लम्बाइ)का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो। उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घर–घरमा नम्बरप्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए।
पहिलो चरणमा महानगरको वडा नम्बर १ देखि १६ सम्म जिआइएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्भे गरी सबै सडकको नामकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआइएस विज्ञ उमेश कुँवरले बताए।
आवश्यक डाटाबेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रणालीका आधारमा नम्बरिङ गरिने जानकारी उनले दिए।
पशुपति घोषमार्गमा मंगलबार ५५ घरमा नम्बरिङ गरिएको छ। १६ वटै वडाको करिब ३३ हजारभन्दा बढी घरमा नम्बरिङ गर्ने गरी तयारी भएको र पहिलो चरणमा कम्तीमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बरप्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोप हुँदै झिँगटीले छाएका घर, कालिगढ पाउनै मुस्किल
दसैँमा माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै
जाजरकोटमा वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते
मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुई जनाको मृत्यु
सलमान खानको घर बाहिर गोलाबारी मामिलामा अर्का व्यक्ति पक्राउ