बागमतीका मुख्यमन्त्रीकाे मन्त्रीहरुसँग कार्यसम्पादन करार

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १३ : ५०
बागमतीका मुख्यमन्त्रीकाे मन्त्रीहरुसँग कार्यसम्पादन करार

हेटौंडा । प्रदेश सरकारको कामकारबाहीलाई व्यवस्थित गर्दै मन्त्रालयहरुको कार्यसम्पादन चुस्त दुरुस्त बनाउने उद्देश्यले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री जम्कट्टेलले विस्तृत कार्ययोजनासहित मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

१२ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा ८ जना मन्त्रीले मुख्यमन्त्रीसँग कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छन् भने बाँकी ३ मन्त्रीसँग केही दिनमा सम्झौता गरिने बताइएको छ । प्रदेश सरकारले चालु आव २०८०/०८१ को विनियोजन ऐनमा नै मन्त्रीसँग मुख्यमन्त्रीले कार्ययोजनासहित कार्यसम्पादन करार गर्ने व्यवस्था गरेको थियो । सोही ऐनलाई कार्यान्वयन गर्दै मुख्यमन्त्रीले सबै मन्त्रालयका मन्त्रीसँग कार्ययोजनासहित कार्यसम्पादन सम्झौता गरिएको हो ।

कार्यसम्पादनका लागि प्रचलित कानून, स्वीकृत वार्षिक बजेट, संरचना र जनशक्ति रहने सम्झौतापत्रमा उल्लेख छ । साथै बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि असोज मसान्तसम्म तयार गर्नुपर्ने र खरिद प्रकृया र टेण्डर सम्बन्धी कार्य आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भएको अख्तियारी तथा मार्गदर्शन बमोजिम गर्ने गरी सम्झौता गरिएको छ ।

करारको अवधि समाप्त नहुँदै कार्यसम्पादन गर्ने÷गराउने सार्वजनिक पदाधिकारी पदमा बहाल नरहेमा उक्त जिम्मेवारी प्राप्त गर्ने नयाँ पदाधिकारीले कार्यसम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै जिम्मेवारी बहन गर्ने मन्त्रीले आफू मातहतका पदाधिकारीसँग कार्यसम्पादन गर्न सक्नेछन् । करारमा उल्लेख भएबाहेक नवप्रवद्र्धनात्मक र नियमित कार्य गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ ।

मन्त्रीहरुसँग करार सम्झौता गर्दै मुख्यमन्त्री जम्कट्टेलले कार्यसम्पादन सम्झौतालाई आधार बनाई कार्य योजना र कार्यक्रम बनाउन सबै मन्त्रीलाई निर्देशन दिए । ‘यस किसिमको सम्झौताले प्रदेश सरकारलाई थप गति प्राप्त हुन्छ । बिना हस्तक्षेप बिना अवरोध मन्त्रीहरुले आफ्नो काम अगाडि बढाउन सक्नुहुन्छ ’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘सम्झौता कार्यान्वयन गर्ने क्रममा हुने समस्या समाधान गर्न हामी सधैँ समन्वयकारी भूमिका निर्वाह गर्छौँ ।’

प्रदेशका १३ वटै जिल्लाबाट मन्त्रालयको सेवा दिने गरी काम भइरहेको पनि उनले सुनाए । स्थायी संरचना निर्माण भइनसकेको अवस्थामा हाल कायम रहेको कार्यालयबाट काम सुरु भइसकेको उनले बताए । प्रदेश सरकारलाई कर्मचारी अभाव रहेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले भएको जनशक्तिलाई व्यवस्थापन गर्दै बढीभन्दा बढी काम गर्ने सोच रहेको बताए ।

फरक प्रसंगमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने हेटौंडा–भीमफेदी–कुलेखानी– हुमाने– फर्पिङ सडक केही महिनाभित्रै स्तरोन्नती सम्पन्न गर्ने प्रतिवद्धता जनाए । लामो समयदेखि काम भइरहेको उक्त सडक स्तरोन्नतीको काम आगामी पुससम्म सम्पन्न गर्नेगरी काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस