काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुर्याएको बताएका छन् ।
नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक एवं परम्परागत रक्षा बन्धनको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले सो कुरामा विश्वास व्यक्त गरेका हुन् ।
“नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको छ, नेपालमा बसोबास गर्ने विभिन्न समुदायले एकै तिथिमा मनाउने रक्षा बन्धन र जनैपूर्णिमा पर्व तथा क्वाँटी खाने परम्परा वर्षौंदेखि सांस्कृतिक त्रिवेणीका रूपमा प्रचलनमा रही आएको छ”, सन्देशमा भनिएको छ । यस्ता पौराणिक पर्व एवं सांस्कृतिक परम्परालाई हामी सबैले सौहाद्र्रपूर्ण माहौलमा मनाउनु पर्दछ भन्ने उनको भनाइ छ ।
तराई–मधेसतिर भाइबहिनीबीच स्नेह, प्रेम बाँड्ने पर्वका रूपमा धुमधामका साथ रक्षा बन्धन मनाइन्छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइको निधारमा रातो टीका लगाउने, आरती उतार्ने र हातमा ‘राखी’ (डोरो) बाँधेर सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीको रक्षाको सङ्कल्प लिँदै आफ्नो स्नेहाभाव दर्शाउने गर्छन । यसले परस्पर आत्मीयता र स्नेहको बन्धनलाई थप बलियो बनाउनुको साथै सामाजिक तथा पारिवारिक ऐक्यबद्धता एवं एकसूत्रमा बाँध्न गर्न सहयोग पुग्छ ।
यो पर्वमा कतै–कतै पुरोहित तथा आचार्य बिहानै यजमानको घर पुगेर डोरो बाँध्ने र उपहारस्वरूप धन, वस्त्र र भोजन आदि प्राप्त गर्ने चलन पनि रहिआएको पाइन्छ । यसले आपसी सद्भाव बढाउनुका साथै विभिन्न जातजातिबीचको सम्बन्धलाई थप समृद्ध र प्रगाढ बनाउँछ ।
त्यसैगरी, जनै पूर्णिमाका रूपमा मनाउने पवित्र जलाशयमा स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । अरुन्धतीसहित आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।
आजकै दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा पनि रहिआएको छ । यसले शरीरमा रोग नलाग्ने र पेट सफा हुने आयुर्वेद शास्त्रीय मान्यता छ । हाम्रो स्वास्थ्यका लागि कृषिउपजको महत्त्वलाई यसले दर्शाउँदछ ।
आजकै दिन नेपालका केही पवित्र धार्मिकस्थलमा मेला पनि लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ भदौ २०८०, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति यादव अस्पताल भर्ना
मलावीका उपराष्ट्रपति चढेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी