चितवनमा सम्बन्धविच्छेदका मुद्दा धेरै

रासस

शनिबार, ०९ भदौ २०८०, ११ : ०५
चितवनमा सम्बन्धविच्छेदका मुद्दा धेरै

चितवन । चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार २१६ दर्ता भएका छन्। यस्तै चेक अनादरको मुद्दा ७२२, अंशसम्बन्धी मुद्दा ६२६, लागुऔषधसम्बन्धी १६८ मुद्दा दर्ता भएका थिए।

कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार ४३५ मुद्दा दर्ता भएका थिए। गत आवमा अदालतमा जिम्मेवारी सरी आएकासहित पाँच हजार ६०० मुद्दामध्ये ६४.५१ प्रतिशत मुद्दा फर्छ्योट भएको छ।

सापकोटाका अनुसार जिम्मेवारी सरी आएका एक हजार ५६५ मुद्दामध्ये एक हजार ३४५ मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएका तीन हजार ४३५ मध्ये दुई हजार २६८ मुद्दा फैसला भएका छन्। गत आवमा जिम्मेवारी सरी आएका मुद्दा एक हजार ९८७ रहेको उनले जानकारी दिए।

सोही समयमा १०० मुद्दा बालबालिका संलग्न भएका मुद्दा दर्ता भएका छन्। कार्यालयका अनुसार मेलमिलापमार्फत ३१० मुद्दा मिलापत्र भएका छन्। मेलमिलापमा पठाइएका एक हजार २६५ मुद्दामध्ये ८४७ मुद्दा फिर्ता भएका छन् भने १०८ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको सापकोटाले बताए।

अदालतले चालु आवका लागि पाँच हजार ८२३ वटा मुद्दा दर्ता हुने र तीन हजार ७८७ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ। यस्तै निवेदनतर्फ दुई हजार २६७ दर्ता हुने अनुमान गरिएको छ। चालु आवको साउन महिनामा १३३.८४ प्रतिशत मुद्दा फैसला गरेको छ। अदालतले साउनमा २१० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा दुई सय ८१ मुद्दा फैसला गरेको हो।

प्रतिक्रिया दिनुहोस