कुलमान भन्छन् - 'माफियाहरू जति सलबलाय पनि लोडसेडिङ हुदैन '

विहीबार, ०६ पुस २०७४, १९ : १४
कुलमान भन्छन् - 'माफियाहरू जति सलबलाय पनि लोडसेडिङ हुदैन '

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित÷अघोषितरुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्रष्ट पारेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यकारी निर्देशक घिसिङले विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषितरुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेकोमा आपति जनाउदै लोडसेडिङ नभएको प्रष्ट पारेका हुन् ।

‘प्राविधिक समस्याका कारण कहिंकतै केहीबेर विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको छ । यसका साथै आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकहरुकोमागलाई समेत मध्यनजर गरी  फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको छ’ घिसिङले भनेका छन् ।

यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको पनि जनाएको छ । हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारण लाइन संरचनाहरुबाट सहजरुपमा विद्युत आपूर्ति भईरहेको र यसको  निरन्तरताको लागि भारत सरकार र सम्बन्धित नियकायहरुबाट प्राधिकरणले सहयोग पाइरहेको प्राधिकरको भनाई छ ।

विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर‘उज्यालोनेपाल’ बनाउने अभियानमा गत वर्षझैं यस वर्ष पनि आ–आफ्नोतर्फबाट सहयोग गरी दिनुहुन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ ।

गत वर्ष पनि विजुली माफियाहरुको प्रभावमा  लोडसेडिङ हुने हल्लाहरु आउने गरेको भएपनि त्यसलाई कुलमानले खण्डन गर्दै आएका थिए र लोडसेडिङ पनि भएको थिएन।

प्रतिक्रिया दिनुहोस