एसिया कप आयोजनाबाट सुरु भएको भारत–पाक क्रिकेट विवाद अझै सतहमै

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, १३ : ३०
एसिया कप आयोजनाबाट सुरु भएको भारत–पाक क्रिकेट विवाद अझै सतहमै

काठमाडौँ । विश्व क्रिकेटमा ठुला प्रतियोगिताहरूको मिति नजिकिँदै गर्दा दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीचको विवाद सतहमै आउने गर्छ । यी दुई राष्ट्रबीचको राजनीतिक सम्बन्धको छाया क्रिकेटमा परेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) जस्ता नेतृत्वदायी निकाय पनि समस्यामा पर्ने गर्छन् ।

एसिया कप क्रिकेट आयोजनाको विषयलाई यी दुई राष्ट्रबीच सुरु भएको विवाद अझै पनि साम्य हुन सकिरहेको छैन । एसिया कप क्रिकेट र एकदिवसीय विश्वकपको मिति नजिकिँदै गर्दा भारत र पाकिस्तानका क्रिकेट अधिकारीहरू भने एक अर्कामाथि आरोप—प्रत्यारोपमै व्यस्त देखिन्छन् । 

भारत र पाकिस्तानबीचको विवाद बेलाबखत प्रतियोगितामा सहभागी अन्य राष्ट्रका लागि पनि टाउको दुःखाईको विषय बन्न पुग्छ । यसको प्रत्यक्ष उदाहरण, नेपाल आफै पनि हो । नेपाल पहिलो पटक एसिया कप खेल्ने तयारीमा छ । एसिया कपमा टेस्ट राष्ट्रका सिनियर टोली नै सहभागी हुन्छन् ।

त्यसैले नेपालका लागि टेस्ट राष्ट्रका सिनियर टोलीहरूसँग खेलेर अनुभव बटुल्ने यो गतिलो अवसर पनि हो । तर, पाकिस्तान र भारतबीचको विवादका कारण झन्डै एसिया कपको आगामी संस्करण नै रद्द हुने अवस्थामा पुगेको थियो । अहिले एसिया कप आयोजनाको विषय टुङ्गो लागे पनि पाकिस्तान र भारतबीचको विवाद भने जारी नै देखिन्छ । 

एसिया कप क्रिकेट अगस्त—सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । एकदिवसीय विश्वकप भने आगामी अक्टोबर—नोभेम्बरमा भारतमा आयोजना हुँदैछ । एसिया कप क्रिकेट पहिले पाकिस्तानमा मात्र आयोजना हुने कार्यक्रम थियो ।

एसिया कपको आयोजना सम्बन्धी विषयलाई लिएर नै सबैभन्दा पहिले यी दुई राष्ट्रबीच विवाद सुरु भएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने भनेपछि विवाद चर्किएको थियो । 

 

त्यसलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि पाकिस्तानमा एसिया कप आयोजना नभए आफ्नो टोली एकदिवसीय विश्वकप खेल्न भारत नजाने घोषणा गर्‍यो । यी दुई राष्ट्रको विवादका कारण एसिया कपमा सहभागी अन्य राष्ट्रले पनि अनावश्यक तनाव बेहोर्नु पर्ने स्थिति सृजना भयो । 

भारतले त पाकिस्तान बाहेक अन्य राष्ट्रलाई समेटेर एसिया कपको सट्टा छुट्टै प्रतियोगिता आयोजना गर्ने तयारी समेत सुरु गरिसकेको थियो । पाकिस्तानले भारतमा विश्वकप नखेल्ने घोषणा गरेपछि भने भारत पनि केही दबाबमा पर्‍यो । 

त्यसपछि पीसीबीले ‘हाइब्रिड मोडेल’ मा एसिया कप आयोजना गर्न सकिने प्रस्ताव एसीसी समक्ष पेश गर्‍यो । त्यो प्रस्तावमा पनि लामो समयसम्म यी दुई राष्ट्रबीच विवाद भयो । अन्ततः अहिले आएर ‘हाइब्रिड मोडेल’ मै एसिया कप आयोजना गर्ने सहमति भएको छ । 

‘हाइब्रिड मोडेल’अनुसार, भारत बाहेकका टोलीले आफ्नो पहिलो खेल पाकिस्तानमा खेल्नेछन् । त्यसपछि भारतले आफ्नो सम्पूर्ण खेल ‘न्यूट्रल भेन्यू’ अर्थात् श्रीलङ्कामा खेल्नेछ । एसिया कपको फाइनल खेल पनि श्रीलङ्कामै खेलाइने छ । 

तत्कालका लागि एसिया कप आयोजनाको विवाद त साम्य भयो । तर, एसिया कपबाटै सुरु भएको भारत र पाकिस्तानबीचको विवाद भने अहिलेसम्म सतहमै रहेको देखिन्छ । त्यो विवाद अहिले भारतमा आयोजना हुने एकदिवसीय विश्वकपसँग जोडिन पुगेको छ । 

 

आईसीसीसँगको सहकार्यमा बीसीसीआईले एकदिवसीय विश्वकपको मिति सार्वजनिक गरिसकेको छ । तर, घोषित मिति आफ्ना लागि उपयुक्त नभएको भन्दै पाकिस्तानले आईसीसीमा निवेदन हाल्यो । पीसीबीले खेल तालिका परिमार्जन गरिनु पर्ने माग गरेको थियो । 

पाकिस्तानको यस्तो मागपछि अहिले बीसीसीआई पनि खेल तालिकामा परिमार्जन गर्न सहमत भएको छ । पछिल्लो समाचार अनुसार, विश्वकपमा भारत र पाकिस्तानबीच अहमदाबादमा हुने भनिएको खेल एक दिन अगाडि सारिएको छ । 

यसअघि भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ तारिखमा खेलाइने तय भएको थियो । तर, पाकिस्तानको आपत्तिपछि उक्त खेल अक्टोबर १४ तारिखमा सारिएको छ । खेल भने अहमादाबादमै हुनेछ । खासगरी पीसीबीले सुरक्षाको प्रश्न उठाएपछि खेल एक दिन अगाडि सारिएको बताइएको छ । 

खासमा, अक्टोबर १५ तारिखमा हिन्दुहरूको महत्त्वपूर्ण पर्व नवरात्रीको पहिलो दिन पर्छ । अहमादाबादमा त्यो दिनलाई विशेष रूपमा मनाइन्छ । त्यसैले सुरक्षाकर्मीहरुले नवरात्री पर्वलाई पनि व्यवस्थित गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा गतिलो सुरक्षा प्रबन्ध हुन नसक्ने भन्दै भारत र पाकिस्तानबीचको खेल एक दिन अगाडि सारिएको बताइएको छ । 

यसैगरी पाकिस्तान र श्रीलंकाबीच अक्टोबर १२ तारिखमा हैदराबादमा हुने तय भएको खेलको मिति पनि परिवर्तन गरिएको छ । उक्त खेल अब अक्टोबर १० तारिखमा हैदराबादमै खेलाइने छ । आईसीसीले स्वीकृत गरेपछि आधिकारिक रूपमा खेल तालिका परिवर्तन हुनेछ । 

योभन्दा पनि रोचक पक्ष अर्को छ । पाकिस्तानले विश्वकपको खेल तालिका परिवर्तन गर्न आईसीसीमा पत्र पठाए पनि पाकिस्तानले विश्वकप खेल्ने कुराकै अन्तिम टुङ्गो लाग्न भने बाँकी छ । पाकिस्तानी सरकारले अहिलेसम्म आफ्नो क्रिकेट टोलीलाई विश्वकप खेल्ने अनुमति दिएको छैन । 

एसिया कप आयोजनाको विषयलाई लिएर विवाद भएपछि पाकिस्तानले विश्वकप नखेल्ने घोषणा गरेको थियो । त्यसपछि अहिलेसम्म पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतमा विश्वकप खेल्ने अनुमति दिएको छैन । कप्तान बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानी टोलीले विश्वकप खेल्न सबैभन्दा पहिले आफ्नो सरकारबाट अनुमति लिनुपर्ने हुन्छ ।  

 

पाकिस्तानी क्रिकेट टोलीले पछिल्लो पटक सन् २०१६ मा भारतको भ्रमण गरेको थियो । पीसीबी स्रोतका अनुसार, सम्भवतः पाकिस्तान सरकारले यस विषयमा बिहीबार कुनै ठोस निर्णय लिन सक्ने सम्भावना छ । पीसीबीका प्रमुख जाका असरफले भने यसअघि नै भारतमा विश्वकप खेल्ने अनुमतिका लागि पाकिस्तानी प्रधानमन्त्रीसँग अनुरोध गरिसकेका छन् । पीसीबीका पदाधिकारीले बिहीबार सरकारद्वारा गठित कमिटीसँग यस विषयमा छलफल गर्ने बताइएको छ । यस विषयमा छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले एउटा कमिटी पनि बनाएका छन् । प्रधानमन्त्रीद्वारा गठित कमिटीको प्रमुखमा परराष्ट्रमन्त्री बिलावल भुट्टो जर्दारी रहेका छन् । 

उक्त कमिटीले ठोस निर्णय लिएर त्यसको जानकारी प्रधानमन्त्रीलाई गराउने छ । त्यसपछि प्रधानमन्त्री शहबाज सरिफले पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत पठाउने वा नपठाउने भन्ने विषयमा अन्तिम निर्णय लिनेछन् ।प्रधानमन्त्रीद्वारा गठित कमिटीले पाकिस्तान र भारतबीच खेल हुने भनिएको स्थान अहमदाबादको विषयमा पनि छलफल गर्ने बताइएको छ । तर, बीसीसीआईका सचिव जय शाहले खेल मितिमा सामान्य परिवर्तन गरिए पनि अहमदाबादबाट खेल अन्यत्र नसारिने बताइसकेका छन् । 

विश्वकपमा पाकिस्तानको सहभागिताको विषयमा निर्णय लिन परराष्ट्रमन्त्री बिलावलको अध्यक्षतामा गठित कमिटीमा आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाह, कानुनमन्त्री अजाम नजिर तारर र सूचनामन्त्री मारियम अउरङ्जेब रहेका छन् । यसका अतिरिक्त उक्त कमिटीमा पाकिस्तानका सुरक्षा निकायका प्रमुखहरू पनि छन् । एसिया कप आयोजनाको विवादपछि पाकिस्तानी क्रिकेट विश्वकप सहभागितालाई लिएर दुई समूहमा विभाजित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस