काठमाडाैं । २ मंसिर ०७४, ललितपुर गोदामचौरका तीन युवाले बाटो ढुकेका थिए । कार्यालयबाट साँझ घर जाँदै गरेकी युवतीलाई बलात्कार गर्ने योजना थियो । त्यसैले टाउकोमा ढुंगाले हानियो । युवती बेहोस भइन्, तीनैजनाले पालैपालो बलात्कार गरे । मुर्छित उनलाई बाटोमुनि तोरीबारीमा फालियो ।
भोलिपल्ट उद्धार भयो, तर शिक्षण अस्पतालको आइसियूमा एक सातासम्म होस आएको थिएन । बोल्न सक्ने भएपछि उनले पीडकको नामै किटान गरेर उजुरी दिइन् । आरोपीहरू पक्राउ परे । पीडितले आफूमाथि प्रहार गर्ने व्यक्तिले साथीलाई ‘रघु–रघु’ भनी बोलाएको र पछि मोबाइलको उज्यालोमा अनुहार पनि चिनेको दाबी गरेकी छिन् । अन्य व्यक्तिलाई समेत सामेल गराई चिन्न लगाउँदा पीडितले आरोपीको पहिचान गरेकी थिइन् । गोदामचौर ‘क’ संकेतका रूपमा पीडितले दर्ता गरेको यो मुद्दामा ललितपुर जिल्ला अदालतले भन्यो, ‘पीडितको ज्यान मार्ने प्रयास भएको छ, तर उनलाई लागेको घाउचोट आरोपीकै प्रहारले भएको हो भन्ने देखिँदैन ।’
‘गोदामचौर क’ अर्थात् पीडित युवती एक सातासम्म बेहोस थिइन्, उनी होसमा आएर मुद्दा दर्ता गरेपछि सुुनुवाइ सुरु हुन पनि समय लाग्यो । लामो समय अचेत भएका कारण पीडितको भनाइमा प्रश्न उठाई प्रहरीले परीक्षण गरेको थियो । उदाहरणका लागि पीडितले बयानका क्रममा आफू सातदोबाटोबाट घर फर्कने क्रममा हिमालयन बैंकको एटिएमबाट तीन हजार रुपैयाँ निकालेको बताएकी थिइन् । त्यस क्रममा अनुसन्धान गर्दा उनले बताएकै समयमा उक्त एटिएम मेसिनबाट ३ हजार रुपैयाँ नै निकालेको पुष्टि भएको थियो ।
तर, लामो अन्तरालपछि भएको पहिचान सत्य नहुन सक्छ भनेर इजलासले पीडित महिलाको दाबीमाथि नै प्रश्नचिह्न उठाउँदै न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले आरोपीलाई तारेखमा छोड्न आदेश दियो, ‘पीडितले मुद्दाको अनुसन्धान क्रममा लामो समयको अन्तरालमा प्रतिवादीको संलग्नता देखाएका आधारमा, थुनामा राखिरहनु न्यायसंगत नहुँदा पछि ठहरेबमोजिम हुने गरी तीनैजनालाई तारेखमा राखी पुर्पक्ष गर्नू ।’ जिल्ला अदालतको आदेशबाट १६ माघ ०७४ मा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर रिहा भए । अाजकाे नयाँ पत्रिका दैनिकले याे खबर छापेकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २५ साउन २०७५, ०८ : ३४
लेखकबाट थप