‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १० : ०३
‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन सुरु भएको नेपाली फिल्म ‘बगान’ हेर्न एकल आमा हलसम्म आएका छन् । पहिलो दिन अन्य दर्शकको तुलनामा एकल आमा र महिलाको उपस्थिति हलमा धेरै देखियो । उनीहरुले फिल्म हेरेपछि आफ्नै जीवनलाई पर्दामा देखेको प्रतिक्रिया दिए । निर्माण समुहका तर्फबाट गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की उपत्यकाका विभिन्न हलमा पुगेका थिए ।

कतिपय स्थानमा दर्शकलाई फकाउन उनीहरूलाई हम्मेहम्मे पर्यो । राइजिङ मलमा रहेको क्युज सिनेमाजमा फिल्म हेरेर निस्किदै गरेकी एकल आमा विमला पराजुलीले पर्दामा आफ्नो जीवनलाई देखेको बताइन् । उनले भनिन्,‘यो हाम्रै कथा रहेछ ।  यस्तै भोगाई धेरैको छ । यसले दिएको संदेश समाजसँगै परिवारका सदस्यले ग्रहण गर्न सके परिवर्तन सम्भव छ ।’

अधिकांश एकल आमाले समाजमा फिल्म देखिएको जस्तो पात्र आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । फिल्म हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि चलचित्रका कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो । अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरु एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईंजस्तै हुनुपर्छ भन्दै भक्कानिएका अर्कोतर्फ थिए । उनीहरुले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराईदिएको बताए ।

विधवा आमाको खुशी जीवनको लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरु र छोरीहरूले स्याबासी दिएका थिए । डेब्यू नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन् । पहिलोपटक चलचित्रमा देखेको भए पनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को फिल्ममा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दंग थिइन् ।

दर्शकसँग साक्षात्कर गर्न भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्युएफएक्स सिनेमाज र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा कलाकारहरू पुगेका थिए ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस